बिहीबार, वैशाख १३, २०८१

महाकाली अस्पतालमा अक्सिजन अभाव

मेरोन्यूज २०७८ वैशाख १४ गते २०:०५

महेन्द्रनगर । कोरोना सङ्क्रमणबाट कञ्चनपुरको महाकाली अस्पतालमा बिरामी बढेपछि यहाँ अक्सिजनको अभाव हुन थालेको छ । चौध श्ययाको सघन कक्ष रहेको अस्पतालमा लक्षणसहितका गम्भीर खालका सङ्क्रमित बढ्न थालेका छन् । अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले अस्पतालमा अक्सिनको अभाव हुन थालेको बताए ।

उनले अक्सिजन प्लान्टले अस्पताललाई आवश्यताअनुसार अक्सिजन दिन नसकेको बताए । “आवश्यकताअनुसार आपूर्ति हुन नसकेपछि हामीले बाहिरबाट पनि मगाएका छौँ”, डा रोकायाले भने, “सङ्क्रमण बढ्दै जाँदा व्यवस्थापनको निकै समस्या आएको छ ।” पचास श्ययाको कोरोना अस्पताल पनि सङ्क्रमितले भरिभराउ छ ।

सोमबार राति भीमदत्त नगरपालिका–११ का एक कोरोना सङ्क्रमितको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितमध्ये चार दिनमा चारको मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको स्थानीय प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि बुधबारदेखि आंशिक लकडाउन गर्ने जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि हरेक दिन दिउँसो ३ बजेदेखि बिहान ८ बजेसम्म बजार, कलकारखाना, व्यवसाय बन्द गर्ने निर्णय गरेको हाे । बैठकले जोरबिजोर प्रणालीबाट यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले प्रदेश सरकारले यहाँ सघन कक्ष सुविधा बढाउने गृहकार्य गरिरहेको जानकारी दि । उनले प्रक्रियागत अल्झनका कारण महामारीका बेला स्रोतसाधन खरिद गर्न समय लाग्ने गरेको बताए । “महाकाली अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी हुँदैछ ”, जोशीले भने, “सेती प्रादेशिक अस्पतालमा त प्लान्ट पहिलेदेखि नै सञ्चालनमा थियो ।”

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको कोरोना परीक्षणमा थप १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ३७० जनाको नमूना परीक्षण गर्दा १९७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा ४२ जना कोरोना सङ्क्रमित बिरामी उपचाररत छन् । जसमध्ये ११ जना आइसियुमा, दुई जना भेन्टिलेटरमा र २५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् । त्यस्तै पछिल्लो २४ घण्टामा कञ्चनपुरको बेदकोट–१ का ४८ वर्षीय पुरुष र कैलालीको गौरीगङ्गा–५ का ३५ वर्षीया पुरुषको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका २० जना थुनुवामा आज कोरोना पुष्टि भएको छ । कोरोना परीक्षणका लागि ६४ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए । कोरोना पुष्टि भएका थुनुवालाई जिल्ला प्रहरी कार्यालयको छुट्टै आइसोलेशनमा राखिएको बताइएको छ ।

हिरासतमा रहेका अन्य थुनुवा र थुनुवाको सम्पर्कमा आएका प्रहरीको पनि पिसिआर परीक्षणको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । टीकापुर प्रादेशिक अस्पतालमा अक्सिजनसहितको २० श्ययाको अक्सिजन जडानसहितको आइसोलेशन वार्ड तयार गरिएको छ । कोरोना भाइरसका बिरामी बढ्न थालेसँगै अस्पतालले आफ्नो तयारीलाई तीव्ररुपमा अगाडि बढाएको हो । अस्पतालले पहिले पनि आइसोलेशन बनाएको भए पनि सङ्क्रमण दर कम भएपछि हटाएको थियो ।

सङ्क्रमणस्थित भन्दा बाहिर गइसकेको उल्लेख गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राइले अस्पतालको क्षमताअनुसार तयारी पूरा गरिएको बताए । “हामीसँग पर्याप्त जनशक्ति पनि छैन । प्रविधि भए पनि सञ्चालनका लागि जनशक्ति नहुँदा समस्या भएको छ । “मेडिकल सुपरिटेन्डेन्ट राईले भने, “कोरोना परीक्षण नहुँदा मात्रै हामीलाई सामान्य लागेको छ । परीक्षण हुने हो भने कोही पनि अछुतो रहने अवस्था छैन ।”

अस्पतालले सोमबार आकस्मिक कक्षमा भर्ना भएका १२ जनाको कोरोना परीक्षण गर्दा ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अहिले अस्पतालमा बिरामीको चाप थेग्न नसकिने गरी बढ्दै गएको छ । दैनिक ४०० भन्दा बढी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् त्यसमा सबैभन्दा बढी रुघाखोकी, जरो, झाडापखालाजस्ता बिरामी छन् ।

“कोरोना वार्ड र जनरल वार्डका लागि चिकित्सकको विभाजन गरेर काम गर्न सकिने अवस्था छैन । आलोपालो काम गर्नुको विकल्प छैन”, मेडिकल सुपरिटेन्डेन्ट राईले भने, “टीकापुर नगरपालिका र अस्पतालको समन्वयमा निर्माण हुन लागेको ३८ श्ययाको आइसोलेशनका लागि पनि अस्पतालबाटै चिकित्सक खटाउनुपर्ने छ ।”

अहिले अस्पतालमा नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालमा सात वटा भेन्टिलेटर भए पनि जनशक्तिको अभावका कारण सञ्चालनमा कठिनाइ भएको अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले बताए । “हामीसँग भएका उपकरण पनि प्रयोगमा ल्याउनसक्ने अवस्थामा छैन”, अध्यक्ष रावलले भने, “जनशक्ति भएको भए जटिल लक्षण देखिएका बिरामीलाई नेपालगञ्ज र धनगढी रेफर गर्नुपर्ने अवस्था आउने थिएन ।”

अहिले कोरोना सङ्क्रमितले अस्पताल भरिएपछि तराईबाट बिरामीलाई उपचारका लागि पहाडी जिल्ला डडेल्धुरा रेफर गरिन थालेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख रामबहादुर कुरुवाङले कोरोना नियन्त्रणका लागि बन्दाबन्दी (निषेधाज्ञा) को विकल्प नरहेको उल्लेख गर्दै समुदायमा नागरिकको स्थिति नाजुक बन्दै गएको बताए । “हामी धेरै ढिलो भइसकेका छाैं । अझै यस्तै बेवास्ता हुँदै जाने हो भने कसैले केही पनि गर्न सक्ने छैन”, कुरुवाङले भने, “प्रशासनिक रुपमा हामी एकदमै जिम्मेवार छौँ । यस्तै जिम्मेवार आमनागरिक पनि हुन आवश्यक छ ।” रासस

प्रतिक्रिया