मंगलबार, चैत ६, २०८०

काेराेना भाइरस

काठमाडौं उपत्यकासहित १० जिल्लामा ‘निषेधाज्ञा’ (सूचीसहित)

मेरोन्यूज २०७८ वैशाख १४ गते १९:१२

काठमाडौँ । पछिल्ला केही दिनयता देशभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फैलिएसँगै विभिन्न जिल्लामा लकडाउन (निषेधाज्ञा) हुने भएको छ । कोरोना नियन्त्रण गर्न काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अन्य केही जिल्लामा पनि लकडाउन हुने भएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै साेमबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठक सोमबार बसेको थियो । गृह मन्त्रालयमा बसेको बैठकमा गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखसहित काठमाडौँ, भक्तपुर र ललितपुरका सिडियो सहभागी थिए ।

बैठकले वैशाख १६ गते बिहीबार बिहान ६ बजेदेखि २९ गतेसम्मका लागि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । काठमाडौँमा उपत्यकामा लकडाउने हुने भएपछि मंगलबारदेखि हजारौँको संख्यामा मानिसहरु आफ्नो गृह जिल्ला फर्किएका छन् ।

काठमाडौँ उपत्यकाबाहेक रुपन्देही, कास्की, पर्सा, कैलालीलगायत जिल्लाले पनि लकडाउन गर्ने भएका छन् । सरकारले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए आपतकालीन निर्णय गर्न जिल्ला प्रशासनलाई जिम्मा दिएसँगै यी जिल्लामा पनि लकडाउन हुने भएको हो ।

रुपन्देहीमा संक्रमण उच्च दरमा वृद्धि भएको भन्दै यही १६ गते बिहीबारदेखि दुई हप्ता लकडाउन गरिने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले रुपन्देहीमा कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै लकडाउन गर्ने निर्णय गरेको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार १६ गते बिहान १ बजेदेखि २९ गतेसम्म लकडाउन गर्ने निर्णय भए पनि सिफारिस हुन बाँकी रहेको बताए ।

बिहीबारदेखि नै लागू हुने गरी पर्सामा एक साता लकडाउन हुने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यता कोरोना संक्रमण तीव्र गतिमा वृद्धि भएको भन्दै कास्कीमा भोलिदेखि नै एक हप्ताका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार भोलि बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म जाेरबिजाेर प्रणली लागू हुनेछ।

कोरोना संक्रमण बढेपछि कैलालीमा पनि बिहीबारदेखि एक हप्ताका लागि लकडाउन हुने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि जिल्ला प्रशासन कार्यालयले आगामी १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन भएका जिल्लाहरुमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द हुने छ । यसअघि सरकारले गत ६ गते कोरोना संक्रमण बढेको भन्दै नियन्त्रण गर्नका लागि सिनेमा हल, होटल तथा रेष्टुरेन्ट, सपिङ मललगायत भीडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिँदै २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको थियो ।

कुनकुन जिल्लामा हुँदैछ लकडाउन हेर्नुहाेस्

प्रतिक्रिया