बिहीबार, वैशाख ६, २०८१

तेस्रो मुलुकबाट कति आए भारतीय नागरिक नेपाल ? यस्तो छ तथ्यांक

दया दुदराज २०७८ वैशाख १४ गते १८:३०

काठमाडौं । भारतमा कोभिड संक्रमितको संख्या वढदै जान थालेपछि साउदी अरवसहितका मध्यपूर्वका मुलुकले भारतसँगको सिधा हवाई सेवामा प्रतिवन्ध लगाए । त्यसपछि भारतवाट त्यता जान चाहने र साउदी सहितका मध्यपूर्वी मूलुकवाट भारत आउन चाहनेले नेपाललाई ट्रान्जिट बनाउन थाले ।

यसरी नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउने भारतयिको संख्या दिनप्रतिदिन वढदो मात्रामा देखिन थाल्यो । यसले नेपालमा कोभिड संक्रमितको संख्या वढ्ने र जोखिम पनि उत्तिकै देखिन थालेपछि नेपाल सरकारले अव त्यस्तो ट्रान्जिट बन्द गर्ने औपचारिक निर्णय गरेको छ ।

भोलि वेलुकी (वैशाख १५ गते मध्यरात) बाट त्यसरी आवातजावत गर्नेहरुको यात्रामा प्रतिवन्ध लगाउने निर्णय भएको अध्यागमन विभागले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ ।

तर, अध्यागमनकै तथ्यांक हेर्ने हो भने प्रतिवन्धित मुलुक प्रवेश गर्न भारतीय नागरिकले नेपाललाई अन्तिम गन्तब्य स्थलका रुपमा रोजेपछि पछिल्लो चार महिनामा मात्रै २४ हजार वढी भारतीयको आवात–जावत नेपालवाट भएको तथ्यांक देखिएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो ४ महिनामा २४ हजार ८ सय ७८ जना भारतीय नागरीकहरु युएई र साउदी अरबबाट नेपाल हुँदै आएका छन् । भारतबाट नेपाल हुँदै युएई र साउदी अरब जानेको संख्या ४ महिनामा १८ हजार २२ जना छन् । तथ्याङक अनुसार, जनावरीमा मात्रै ४ हजार २८ जना भारतीय नागरीकहरु साउदी अरब र यूयईबाट नेपाल हुँदै आएका छन् भने भारतबाट नेपाल हुदै साउदी अरब प्रस्थान गर्नेको संख्या ३ हजार ५ सय ११ जना रहेका छन् ।

त्यस्तै फेब्रवरीमा मात्रै साउदी अरब र यूयईबाट नेपाल हुँदै ४ हजार ७ सय ६३ जना आएका छन् भने ४ हजार ६८ जना भारतबाट नेपाल हुदै साउदी अरब उडेका छन् । मार्चमा ७ हजार ६ सय ५८ जना भारतीय नागरीकहरु नेपाल हुँदै अवतरण गरेका छन् भने ५ हजार १ सय ९२ जना भारतीय नागरीकहरु नेपाल हुँदै साउदी अरब सहित मध्यपूर्वका देशहरु प्रस्थान गरेका छन् ।

त्यस्तै अप्रिल १ देखि १८ तारिक सम्म ८ हजार ९ सय २९ जना नेपाल हुँदै साउदी अरब सहित मध्य पुर्व मुलुकहरुबाट आएका छन् भने ५ हजार २ सय ५० जना भारतीय नागरीकहरु नेपाल हुँदै विभिन्न मुलुकहरु प्रवेस गरेको अध्यागमन विभागको तथ्याङकले देखाएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २३ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतभर १ करोड ७६ लाख ४६ हजार ८ सय ७९ जनामा कोरोना पुष्टि भएको वर्डमिटरको तथ्याङकले देखाएको छ । भारतमा नयाँ भेरियन्टको कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढेता पनि नेपालमा भारतीयहरु भित्रिनेको संख्या भने घटेको छैन ।

गत अप्रिल १६, १७ र १८ मा मात्रै ८ हजार ८ सय २५ जना भारतीय नागरीकहरु साउदी अरब सहित मध्यपुर्व मुलुकहरुबाट नेपाल हुँदै आएका थिए । त्यस्तै अप्रिल १६, १७ र १८ मा मात्रै ६ हजार ९ सय १७ जना भारतीय नागरीकहरु नेपाल हुँदै आएका थिए ।

भारतीय नागरिकहरुले नेपाल हुँदै विभिन्न मुलुकहरु आवतजावत गर्दैगर्दा नेपालमा पनि नयाँ भेरियन्टको कोरोना संक्रमण तिव्र गतिमा बढेको पाईन्छ ।

संक्रमणको प्रभाव बढेसँगै कोरोना नियन्त्रणका लागि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ भने सोमबार बसेको मन्त्रीपरिसद्को वैठकले काठमाडौं उपत्यकामा २ हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया