शुक्रबार, वैशाख १४, २०८१

‘लकडाउन’ हुने भएपछि उपत्यका छाड्ने बढ्यो (फोटो फिचर)

मेरोन्यूज २०७८ वैशाख १४ गते १४:५८

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट संक्रमण फैलिएसँगै काठमाडौँ उपत्यका छाड्नेको संख्या बढेको छ । काठमाडौँ उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुले बिहीबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गर्ने भएपछि काठमाडौँ छाड्नेको भीड बढेको हो ।

तीन जिल्लाका सिडिओहरुले काठमाडौँ उपत्यकामा तीव्र गतिमा कोरोना संक्रमण बढेपछि रोकथाम गर्ने भन्दै १५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको थियो । सोमबार गृहसचिव महेश्वर न्यौपानेसहित तीन जिल्लाका सिडिओहरुको बैठक बसी उपत्यकामा लकडाउन गर्ने निष्कर्शमा पुगेको थियो । सुरुमा एक हप्ताका लागि मात्रै लकडाउन गर्ने निर्णय गरे पनि सोमबार साँझ बसेको मन्त्रिपरिसद्को बैठकले २ हप्ता लकडाउन गर्न सूचना जारी गरेको थियो ।

सरकार र प्रशासनको निर्णयसँगै उपत्यका छाड्नेको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो दुई दिनमा दिउँसोभन्दा साँझ बिहान उपत्यका छाड्नेको संख्या बढी रहेको छ ।

यसैबीच लामो दुरीमा चल्ने सार्वजनिक गाडीको सिट नपाएको भन्दै यात्रुहरुले गुनासो गरेका छन् । उपत्यका छाड्नेको संख्या बढेसँगै नयाँ बसपार्कमा टिकट अभाव भएको यात्रुहरु बताए ।

सोमबार मात्रै उपत्यकामा एक हजार ५ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै, देशभर तीन हजार ५ सय ५६ जनामा कोरोना पुष्टि हुँदा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया