बिहीबार, वैशाख १३, २०८१

सत्तारुढ दलबाटै गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

मेरोन्यूज २०७८ वैशाख १४ गते १३:४३

पोखरा । सत्तारुढ दल नेकपा एमालेले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको दोस्रो बैठकमा एमाले सांसदले सुरुआतमा उठेर बैठक अवरुद्ध गरेका हुन् ।

पीसीआर परीक्षण नगरी, सामाजिक दूरी कायम नगरी बैठक राखिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । बैठकमा एमाले सांसदहरुले पीसीआर परीक्षण गरिनुपर्ने बताएका छन् । पीसीआर परीक्षण नगरी बैठक राख्दा हुन सक्ने क्षति प्रदेश सभाले व्यहोर्नुपर्ने उनहरुको तर्क रहेको थियो ।

सरकारले १५ जना भन्दा बढी भेला नहुन निर्देशन गरेका बेला प्रदेश सभामा सयौं जना राखेर बैठक राख्न नहुने एमाले सांसद राजीव पहारीले बताए । सोमबारको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण गरेर मात्रै प्रदेश सभाको बैठक राख्न ध्यानाकर्षण गराएका थिए ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि बैठक स्थगित गरेका छन् । वैशाख २ गते प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्तावमा बुधबार मतदान गर्ने योजना रहेको बताइएको छ । एमालेले बैठक अवरुद्ध गर्दा मतदान नहुने देखिएको जनाइएको छ ।

प्रतिक्रिया