शुक्रबार, चैत १६, २०८०

‘फ्लोर क्रस’ हुने भन्दै सांसदहरूलाई रिसोर्टमा राखियो

मेरोन्यूज २०७८ वैशाख १४ गते ११:४४

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको दर्ता गरेसँगै सांसदहरूलाई रिसोर्टमा राखिएको छ । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा सांसदहरूले फ्लोर क्रस गर्ने आशंकामा दलहरूले आफ्ना सांसदलाई सुविधासम्पन्न रिसोर्टमा राखेको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेस, केही समयअघिसम्म सत्ता साझेदारी दल रहेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदलाई मंगलबारदेखि रिसोर्टमा राखेको हो । उनीहरुमध्ये कांग्रेस र माओवादीका सांसदहरू लेकसाइडस्थित कुटी रिसोर्टमा छन् भने जसपाले कुटी नजिकैको अर्को एक होटलमा आफ्ना सांसदहरूलाई राखेको छ ।

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरूको संख्या नघटोस् भनेर सांसदहरूलाई एकै ठाउँमा राखिएको एक प्रदेशसभा सदस्यले जानकारी दिए । उनीहरूलाई केही दिन त्यही राखिने ती प्रदेशसभा सदस्यले जानकारी दिए ।

एमालेका तर्फबाट मुख्यमन्त्री रहेका गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले गत २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव टेबुल भएको थियो । नयाँ मुख्यमन्त्रीको रुपमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ ।

Advertisement

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगाउन नेकपा एमालेका चार जना प्रदेशसभा सदस्यहरूले फ्लोर क्रस गरेका थिए । उनीहरूले फ्लोर क्रस गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

प्रतिक्रिया