बुधबार, वैशाख १२, २०८१

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज पनि छलफल हुँदै

मेरोन्यूज २०७८ वैशाख १४ गते ७:५५

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध प्रदेश सभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि आज पनि छलफल हुँदैछ ।

नेपाली कांग्रेस सहित दलले टेबल गरेको सो प्रस्तावमाथि प्रदेश सभाको दिउँसो सवा १२ बजे बस्ने बैठकमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

अविश्वासको प्रस्तावमाथि धारणा राख्न सांसदले नाम टिपाएका छैनन् । छलफल सकिए आजै र आज नसकिए भोलि सो प्रस्ताव किनारा लगाउने सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेश सभाको हिजो सुरु भएको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेश गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वास प्रस्ताव टेबल गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ गते प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । हिजोको बैठकमा नेपाललीले संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेश सभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री गुरुङमाथि प्रदेश सभाको विश्वास छैन भनि प्रस्ताव पेश गर्दै अविश्वास प्रस्तावको पक्षमा मतदानको लागि आह्वान गरे ।

अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

अविश्वास प्रस्ताव पेश गर्दै नेपालीले मुख्यमन्त्री गुरुङले प्रदेश र प्रदेशवासीको हितमा काम गर्न नसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम र प्रतिगमनको समर्थन गरेको आरोप लगाए ।

साथै सत्ता साझेदार माओवादी केन्द्रलाई समेत अपमान र उपेक्षा गरेको, नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनेपछि संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेमा एक महिनाको समय सीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको उनले बताए ।

माओवादी केन्द्रले चैत २५ गते सरकारबाट बाहिरिएर वैशाख २ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव आउने तयारी भएपछि गण्डकी सरकारले हिउँदे अधिवशेन वैशाख १ गते मध्यरातबाट लागू हुनेगरी अन्त्य गरिदिएको थियो । चैत २५ गते सुरु भइ ३ दिन चलेको अधिवेशनको अर्को बैठक वैशाख ६ गते बोलाइएको थियो । तर मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख अमिक शेरचनले वैशाख २ गते प्रदेशसभा सचिवालयमा पत्र पठाएर अधिवेशन अन्त्य भएको जनाएका थिए ।

वैशाख २ गत नै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले प्रदेश प्रमुख शेरचनसमक्ष प्रदेश सभाको विशेष अधिवेशन माग गर्दै समावेदन गरेका थिए । सोही समावेदनका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १३ गते विशेष अधिवेशनको आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।

प्रतिक्रिया