शनिबार, वैशाख १५, २०८१

त्रिविको परीक्षा स्थगित, के भन्छन् विद्यार्थी ? (भिडियो)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रास र कोरोनाको दोस्रो लहर देखा परेसँगै सरकारले विभिन्न कार्ययोजनाहरु बनाउँदै आएको छ । ग्रामीण क्षेत्रभन्दा बढी सहरी क्षेत्रमा कोरोनाको प्रभाव बढिरहेको तथ्यांकले देखाएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण गर्न भन्दै सर्वसाधरणलाई भिडभाड नगर्ने, भौतिक दुरी कायम गर्नलगायतका मापदण्डहरु तोकेको छ । यद्यपि, यसबारे जनताले खासै चासो देखाएका छैनन् ।


कोरोनाको सन्त्रास र आक्रान्तबाट शैक्षिक क्षेत्रमा समेत ठूलो असर परेको विद्यार्थीहरुले बताएका छन् । गत बैशाख ६ गते बसेको मन्त्रीपरिषदको निर्णयले राजधानीसहित विभिन्न सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिँदै भर्चुअल पद्दतीबाट पठनपाठन गर्न उर्दी जारी गरेको थियो । यसैबीच पूर्व निर्धारित परीक्षाहरु हुने या नहुने भन्ने विषयमा विद्यार्थीहरु अन्योलमा थिए ।


तर, सोमबार गृहमन्त्रालयका गृहसचिव महेश्वर न्यौपानेसहित उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो । बैठकले काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण कसरी गर्ने भन्ने विषयको टुंगो लगाउन सोमबार साँझ बस्ने मन्त्रीपरिषदको बैठकलाई जिम्मा दिएको थियो ।


देशभर कोरोना संक्रमणको दर तीव्र गतिमा बढेसँगै त्रिभुवन विश्वविद्यालय(त्रिवि) ले पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविको निर्णयसँगै विद्याार्थीहरु मारमा परेका छन् । कोरोनाका कारण गत वर्षको साउनतिर हुनुपर्ने त्रिविमा अध्ययनरत विद्यार्थीको परीक्षा करिब एक वर्ष ढिला गरी सञ्चालन हुँदै गर्दा रोकिएको हो । गत ५ गतेदेखि सञ्चालन भएका परीक्षासहित अर्को महिनादेखि हुने परीक्षाहरु त्रिविको अर्को सुचना नहुँदासम्म स्थगित गरेको त्रिविले जनाएको छ ।


आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले पहाडी तथा हिमाली जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय संक्रिया संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा वा लकडाउन गर्न सक्ने गरी निर्णय गरेको थियो । उपत्यकाका तीनै जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा माथि रहेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार पाँच सय ५६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९ सय ५१ पुगेको छ । यस्तै, आज एकैदिन थप १२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन हजार एक सय ७६ पुगेको छ ।


देशमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गर्दा पूर्व निर्धारित परीक्षा स्थगित हुँदा यसो भन्छन्, विद्यार्थीहरु :

भिडियोमा हेर्नुहोस्:-

प्रतिक्रिया