शुक्रबार, वैशाख १४, २०८१

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त

मेरोन्यूज २०७८ वैशाख १३ गते १५:५९

सुर्खेत । नेकपा एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन् । एमाले कर्णाली प्रदेशस संसदीयदलको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरुलाई पार्टीले पदमुक्त गरेको हो ।

पदमुक्त हुनेमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा रहेका छन् । उनीहरुले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ ९१० र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएको थियो । कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम आज बसेको प्रदेस सभको बैठकमा सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।

हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् भने ज्वाला कुनैपनि जिम्मेवारीमा छैनन् ।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन् । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।

यसअघि एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बेठकले कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया