बिहीबार, वैशाख ६, २०८१

कोरोनामा कम्पनीका सिइओ मालामाल, ३० हजार कर्मचारी निकालेको कम्पनीका सिइओले लिए साढे २ अर्ब तलब

मेरोन्यूज २०७८ वैशाख १३ गते १५:२६

काठमाडौँ । करिब साढे एक वर्षअघि चीनको हुवाई प्रान्तस्थित बुहान सहरबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहर विश्वभर फैलिएको छ । दैनिक हजारौँ मानिसहरुले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने लाखौँको संख्यामा संक्रमित भएका छन् ।

कोरोना भाइरस फैलिएसँगै विश्वभर ठूलो आर्थिक संकट देखा पर्यो । कोरोनाका कारण अमेरिकामा लाखौँ मानिसले आफ्नो जागिर गुमाउन पुगे । केही ठूला कम्पनीहरु बन्द नै भए । तर, यसैबीच केही ठूला कम्पनीका सिइओले भने सोचेभन्दा बढी पारिश्रमिक तथा बोनस पाए ।

यस क्रममा विश्वकै विमान बनाउने ठूलो कम्पनी बोइङ्गले ३० हजारभन्दा बढी आफ्ना कर्मचारीलाई निलेको विषयले विश्वको ध्यान तानेको थियो । कम्पनीले आफूलाई करिब एक सय ४४ हजार करोड रुपैयाँ घाटा भएको जानकारी दिएको थियो । यसका बावजुद कम्पनीका सिइओ डेविड क्यालह्यानले दुई सय ५३ करोड रुपैयाँ लिएको विषयले पनि चर्चा पाएको थियो ।

यसैगरी, नर्वेको एक जहाज कम्पनी मुस्किलले बन्द हुनबाट बच्यो । कम्पनीलाई ३२ हजार करोड रुपैयाँ नोक्सान हुन पुग्यो । कम्पनीले करिब २० प्रतिशत आफ्नो कर्मचारी हटाए । तर, कम्पनीले आफ्नो सिइओ फ्रैन्क डेल रियोलाई भने दुई गुणा बढी रकम दिए । अर्थात करिब ४ सय ३७ करोड रुपैयाँ तलब र भत्ता दिए ।

यस्तै, कोरोना भाइरस संक्रमण भएको भन्दै हिल्टन होटलले आफ्नो एक चौथाई कर्मचारीलाई हटाए । होटल खाली हुँदा कम्पनीलाई करिब ८ हजार ६ सय ४० करोड रुपैयाँ नोक्सान हुन पुग्यो । तर, हिल्टनले आफ्नो सिइओ क्रिस नासेट्टालाई ६ सय ७० करोड रुपैयाँ तलब दिए ।

यसरी नै कोरोनाको महामारीमा कामबाट कर्मचारी निकालिदै गर्दा अर्बौँ तलब भत्ता लिने अन्य सिइओहरूमा विश्वका सबैभन्दा धनाड्य अमेजनका मालिक जेफ बेजोस, गुगलका ल्यारी पेज रहेका छन् । उनीहरूले कोरोना महामारीमा अन्य सामान्य अवस्थामा भन्दा बढी लाभ लिन सफल भएको समाचारमा जनाइएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया