शुक्रबार, चैत १६, २०८०

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ गुणा बढी

मेरोन्यूज २०७८ वैशाख १३ गते ११:३८

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणको दोस्रो लहरसँगै भयनक संकट उत्पन्न भएको छ । कोरोना संक्रमितका कारण सबै अस्पतालहरु भरिएका छन् । अक्सिजन आवश्यक भएका विरामीहरुले अक्सिजन पाउन सकेका छैनन् ।

संक्रमितको उपपचारका लागि अक्सिजन तथा औषधिको अभाव तीव्र रुपमा खडा हुँदै आएको छ । संक्रमितहरु आफ्नो उपचारको पालो कुर्दै गर्दा प्राण त्याग्नु परेको छ । कोरोना संक्रमणको दर वृद्धि हुँदै गर्दा अधिकारीहरुले कोरोनाबाट मृत्यु हुनेको वास्तविक आँकडा सरकारले लुकाएको आरोप लगाउँदै आएका छन् । पछिल्लो केही दिनमा विश्वभर देखिएको कूल कोरोना संक्रमितको संख्यामध्ये करिब आधा नयाँ केस भारतमा देखिएको छ ।

‘अहिले देशमा देखिएको कोरोना संक्रमणले विचलित बनाएको छ, फेरि सरकारले रोकथामका लागि कुनै विशेष नीति बनाउन सकेको छैन,’ भारतीय स्वास्थ्य अधिकारीहरुले भनेका छन्, ‘वैज्ञानिकहरु कोरोना संक्रमणको दरलाई देखेर चिन्तित बनेका छन्, भारतमा देखिएको कोरोनाको नयाँ स्वरुप घातक भएकाले छिटोभन्दा छिटो रोक्नु आवश्यक छ ।’

मृतकको संख्या नगन्य

कोरोना भाइरसबाट मृतकको संख्या बढेसँगै भारतका अधिकांश मसान घाट भरिभराउ भएको छ । घाटमा शव जलाउन ठाउँ नभएपछि खुल्ला सडकमै शवको अन्त्योष्टि गरिएको छ ।

Advertisement

यसका आधारमा सरकारी आँकडाभन्दा अगन्य रुपमा कोरोना संक्रमितको मृत्यु भएको समाचारमा जनाइएको छ । स्वास्थ्य विज्ञहरुले सरकारले कोरोनाबाट करिब २ लाखको मृत्युबारे गलत आँकडा भएको बताउँदै आएका छन् । उनीहरुले नेता तथा प्रशासकको मिलेमतोमा ठूलो मात्रामा कोरोनाबाट मृत्यु हुनेको संख्यालाई लुकाएको आरोप लगाउँदै आएका छन् ।
लापरबाहीले निम्त्याएको हालत

भारतमाथि गहिरो अध्ययन गर्ने मिशिगन विश्वविद्यालयका महामारी विशेषज्ञ भ्रमर मुखर्जीका अनुसार भारतको यो पूरै आँकडा गलत रहेको छ ।
उनका अनुसार भारतमा अहिले कोरोनाबाट मृत्यु भएकोभन्दा करिब पाँच गुणा बढी मानिसले ज्यान गुमाएका छन् ।

केही महिना पहिलेसम्म भारतको अवस्था ठिकै थियो । यो सोचेर सरकारले पुनः संक्रमण हुनेबारे कुनै तयारी नगर्दा यस्तो अवस्था आएको उनले बताए ।

यसरी सरकारले आफू चुप लागेर बस्दै नागरिकलाई सावधानी नगराउँदा यस्तो अवस्था आएको महामारी विशेषज्ञ मुखर्जीको दाबी रहेको छ ।

१० प्रतिशतले लगाए भ्याक्सिन

पछिल्ला केही दिनदेखि भारतीय सामाजिक सञ्जालमा हृदयविदारक तस्वीर बढी मात्रामा छाएको छ । सामाजिक सञ्जालमा अस्पताल, बेड, औषधिको आभाव, अक्सिजन नपुगेको बारेमा पोष्ट हुँदै आएको छ ।

देशभर सामूहिक अन्तिम संस्कार हुँदै गरेको तस्वीरसमेत समाजिक सञ्जालमा छाएको छ । यसैबीच कोरोनाको भ्याक्सिन लगाउने भन्दै मानिसको भीड उत्तिकै देखिएको छ । विश्वकै प्रमुख भ्याक्सिन उत्पादन गर्ने देश भारत भए पनि जम्मा १० प्रतिशत मानिसले मात्रै भ्याक्सिन लगाउन दुःखद भएको अधिकारीले बताएका छन् । एजेन्सी

प्रतिक्रिया