बिहीबार, वैशाख ६, २०८१

रूकुम पूर्वका लागि चामलको कोटा स्वीकृत, एक हजार क्विन्टल चामल ढुवानी हुने

मेरोन्यूज २०७८ वैशाख १२ गते १९:०३

रुकुमपूर्व । रुकुम (पूर्व) का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल बिक्री वितरण गर्न शुरुसमेत गरिएको छ ।

लिमिटेडले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगङ्गा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जनाएको छ । चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।

जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम (पश्चिम) शाखा वितरण कार्यालयमार्फत रुकुम (पूर्व) मा चामल आपूर्ति भइरहेको छ । दुईवटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईवटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम (पश्चिम) खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार रुकुम (पूर्व) मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ । तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम (पश्चिम) डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताए । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उनको भनाइ छ ।

जिल्लामा मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल बिक्री वितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए ।तकसेरामा भने पहिलो चरणमा पुगेको चामल बिक्री भइसेकेको छ ।

ठेक्कामार्फत वितरण रुकुम (पूर्व) मा लिमिटेडको छुट्टै शाखा कार्यालय स्थापना नहुँदा ठेकेदारमार्फत चामल आपूर्तिको काम भइरहेको छ । यसपालि रुकुमकोटका लागि राप्ती बहुसेवा प्रालि र तकसेराका लागि एमवी बिल्डर्सले खाद्यको चामल आपूर्तिको जिम्मा पाएका थिए । जिल्लामै कार्यालय नभएपछि विकल्पका रुपमा ठेकेदारमार्फत चामल आपूर्ति र वितरणको काम गर्नुपर्ने बाध्यता भएको शाखा कार्यालय रुकुम (पश्चिम) का निमित्त प्रमुख खड्काले बताए ।

रुकुम (पूर्व) मै शाखा कार्यालय स्थापना गर्न पहल गरिए पनि सुनुवाइ नभएको यहाँका सरोकारवालाले बताएका छन् । ठेकेदारमार्फत खाद्यको चामल वितरण गर्दा ढुवानीदेखि लिएर बिक्री वितरणमा भने अपेक्षित रुपमा सहज नभएको उपभोक्ताहरुले बताएका छन् । रुकुम (पूर्व) का लागि स्वीकृत भएको एक हजार कोटा चामल यहाँका लागि पर्याप्त भने होइन ।

भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै ठाउँमा सडक पुगेका छैनन् । अहिले खाद्यको चाम सडक सुविधा पुगेका ठाउँका नागरिकले मात्र प्रयोग गर्दै आएका छन् । सडक नपुगेका ठाउँमा खाद्यको चामल पु¥याए पनि खोडा खच्चडमार्फत ढुवानी गर्ने हुँदा महँगो पर्ने गरेको गुनासो उपभोक्तहरूको छ ।

प्रतिक्रिया