शनिबार, वैशाख ८, २०८१

इराकको एक कोरोना अस्पतालमा आगोलागी हुँदा आइसियूमा भर्ना भएका ८२ जना मृत्यु

मेरोन्यूज २०७८ वैशाख १२ गते १७:३७

काठमाडौँ । इराकको राजधानी बगदादमा रहेको एक कोरोना भाइरस (कोभिड–१९) अस्पतालमा आगोलागी हुँदा आइसियूमा भर्ना भएका ८२ जनाको मृत्यु भएको छ । घटनामा सय जनाभन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ ।

राजधानी बगदादको इब्न अल खतिब अस्पतालमा आइतबार आगोलागी भएको थियो । अस्पतालका प्रबन्ध निर्देशकका अनुसार अचानक विद्युत सर्ट हुँदा आगोलागी भएको हो । आगोलागी हुँदा अक्सिजनको प्लान्टसमेत जलेर नष्ट भएको समाचार जनाइएको छ ।

अस्पतालमा आफ्ना भाइलाई भेट्न आएका अहमद जकीले आगोलागी हुनुभन्दा पहिले एक विस्फोटको आवाज आएको बताए । घटना भएसँगै इराककी प्रधानमन्त्री मुस्तफा अल कदिमीले बगदाद स्वास्थ्य विभागका डाइरेक्टर जनरललाई बर्खास्त गरिदिएका छन् । यसका साथै प्रधानमन्त्रीले अस्पतालका म्यानेजर र व्यवस्थापनका इञ्जिनियरलाई समेत हटाइदिएका छन् ।

घटनासँगै प्रधानमन्त्रीले देशका प्रमुख अधिकारीसँग आपत्तकालीन छलफल गरेका थिए । उनले लापरवाही गर्नेलाई सजाय दिने बताउँदै जाँचबुझका लागि आयोग गठन गरी २४ घण्टाभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका छन् । एजेन्सी

प्रतिक्रिया