शनिबार, वैशाख ८, २०८१

भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा सार्वजनिक बिदा

मेरोन्यूज २०७८ वैशाख १२ गते १२:१३

काठमाडौँ । गोरखको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले विं.सं. ०७२ सालमा गएको विनासकारी भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

“०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो”, उनले भने, “भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ ।”

गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक संघसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट – १ र २ मा पर्ने भूकम्पको केन्द्रविन्दु बारपाक गाउँका ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्प स्मृति दिवसका अवसरमा हरेक वर्ष बारपाकमा विभिन्न कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोना संक्रमण जोखिमका कारण कार्यक्रम स्थगन गरिएको अध्यक्ष भट्टले जानकारी दिए।

प्रतिक्रिया