शनिबार, वैशाख ८, २०८१

चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १२ गते ९:३१

मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिंह थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

उनका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाबाट करिब एक वर्ष पहिले पनि रामबहादुर अयडीसहितका व्यक्तिलाई चितुवाको छाला, हड्डी दाँत र मृगका हड्डीसहित पक्राउ गरी मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया