शुक्रबार, वैशाख ७, २०८१

भूकम्पले भत्काएको ६ वर्षपछि तयार भएको धरहराको आज उद्घाटन

मेरोन्यूज २०७८ वैशाख ११ गते ९:२७

काठमाडौं । नवनिर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्दैछन् ।

२०७२ सालको विनासकारी भुकम्पले भत्काएको धरहराको छेउमा बनाइएको नयाँ धरहराको प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन् ।

शनिबार विहान ११ बजेर ११ मिनेट जाँदा प्रधानमन्त्रीले उद्घाटन गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र सहभागी रहने छन् ।

कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाएको प्राधिकरणले जनाएको छ । उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।

२०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको हो । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।

धरहराको फेदमा निर्माण हुनुपर्ने अन्य संरचनागत कामहरु भने अझै सकिएको छैन । भूकम्पले जुन संरचना भत्काएको थियो, त्यसको निर्माण सकिन लागेकाले प्रधानमन्त्रीले उद्घाटन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

धरहरा निर्माणको सम्पूर्ण काम नसकिएकाले आजै उद्घाटन भएपनि सर्वसाधारणलाई अवलोकनका लागि तत्काल खुला हुने भएको छ । निर्माणको काम सकिएपछि मात्र खुला गर्ने प्राधिकरणले जनाएको छ ।

भूकम्प गएको ६ वर्ष पुगेपनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो । गजुर सहितको स्तम्भ तयार गर्न ३ अर्ब ४८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ ।

धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरणको भनाई छ ।

प्रतिक्रिया