शुक्रबार, वैशाख १४, २०८१

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

मेरोन्यूज २०७८ वैशाख ११ गते ८:३१

काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् ।

गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

“जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा नरेन्द्रकुमार झाले भने ।

उनका अनुसार शुक्रबार चार वर्षीय बालकदेखि ८१ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिक स्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ ।

तेह्र स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ सङ्क्रमित छन् । हाल बनेपा नगरपालिकामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा पाँच, चौंरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा सङ्क्रमण देखिएको छैन ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले गत सोमबार देशभरका २५ सहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई नगर बनेपा र धुलिखेलका शिक्षण संस्था बुधबारदेखि पूर्णरुपमा बन्द गरिएको छ । (रासस)

प्रतिक्रिया