शुक्रबार, चैत १६, २०८०

एनआरएनएका अध्यक्ष पन्त भन्छन्- १० अर्बकाे फण्डबाट लगानी गरेर नाफा दिन्छाैं

मेरोन्यूज २०७८ वैशाख १० गते २०:२७

काठमाडाैं । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा उनले बैंकबाट ब्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् ।

पूर्वाधार तथा उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ ।  एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर (आईपीओ) निष्काशन गरिने योजना छ । जसअनुसार ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) ल्याउनेछ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो जसका लागि नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने संघका अध्यक्ष कुमार पन्तले बताए ।

आईपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् । ´यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १ सय ७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना सुरु हुन्छ,` उनले भने, ´संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।`

संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ ।
परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार कै क्षेत्रमा  लगानी गरिने छ ।

Advertisement

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँ भन्दा बढी पुर्‍याउने संघको योजना छ ।

नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रबर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, “संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।”

प्रतिक्रिया