बिहीबार, चैत १५, २०८०

कोमामा पुगेर बाँचेका भूलेज, जसको हातमा थमाइयो २ करोड ५१ लाखको बिल

एनआरएनएको पहलमा उद्धार गरी घर पुर्याइयो

मेरोन्यूज २०७८ वैशाख १० गते १९:२२

काठमाडौं । परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए–मोरङका बेदबहादुर भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानूनी रुपमा बस्न बाध्य भए ।

परिवारमा खुशी ल्याउने इच्छाका साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात प¥यो । साथीभाइको सहयोगमा गैरकानूनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे ।

उनी स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधिमध्ये तीन महिनासम्म त उनी कोमामा थिए । परदेशमा बेखर्ची बनेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख ९८ लाख २३ हजार रियालको बिल थमाइदियो ।

खानबस्न समेत समस्यामा पर्नुभएका उनी अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए । बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलिकियर अस्पतालले भुजेलविरुद्ध मुद्दा दायर गर्यो । सोही मुद्दाका कारण उनी साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे ।

विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा पुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमीपछि अस्पतालले उनीविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता भयो ।

Advertisement

भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका उनको सहयोगको लागि नेपाली दूतवास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लियो ।

संघको कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमअन्तर्गत उनलाई साउदीदेखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाडौंमा खाना तथा बस्ने व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालनसमेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो ।

गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुनःस्थापना कार्यक्रमअन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाइएको संघले जनाएको छ । उनको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को व्याजमा क्रण लिएका भुजेलको ऋण अहिले व्याजसहित ३ लाख ५० हजार रुपैयाँ भन्दा बढी नाघेको छ ।

परिवारसँगको भेटपछि केही प्रशन्न देखिएका भुजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, ‘जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।’

साउदी अबरस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरिदिने संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष एवं वैैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकलाई राहत तथा उद्धारको काम जारी रहेको बताए । संघको यस कार्यक्रमअन्तर्गत सेप्टेम्वर २०२० देखि हालसम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७ हजार बढी नेपाली श्रमिलाई राहत तथा उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया