शनिबार, वैशाख ८, २०८१

म्याग्दीको करबाकेलीमा सङ्ग्रहालय स्थापना

मेरोन्यूज २०७८ वैशाख १० गते ६:४२

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ ।

करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको बताए ।

“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उनले भने, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर राख्न थालेका छौँ ।”

सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भााडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

सामग्रीहरुको सजावटको काम सकिएपछि सङ्ग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ ।

सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधी प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माणमा हालसम्म करिब ६८ लाख रुपैयाँ खर्च भएको समितिका सचिव रवि गर्बुजाले बताए ।

“अन्नपुर्ण गाउँपालिकाले सात लाख र प्रदेश सरकारले पाँच लाख रुप्ैयाँ सहयोग गरेका छन्”, उनले भने “बाँकी ५३ लाख रुपैयाँ स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो ।

समितिको तीन लाख रुपैयाँ खर्च भएको छ । घोषणा गरेको सहयोग प्राप्त हुने क्रम जारी छ ।”
पुन समुदायको अगुवाइमा स्थापना गरिए पनि सङ्ग्रहालयलाई म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । सङ्ग्रहालयले परम्परागत सामग्रीको संरक्षणसँगै पर्यटन प्रवर्दनमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा दुई करोड रुपैयाँ भन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाइएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।

प्रतिक्रिया