शनिबार, वैशाख १५, २०८१

टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो खेलाडी

विक्रम गिरी/रासस २०७८ वैशाख ९ गते २१:२०

फाइल फाेटाे

काठमाडौं । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उहाँले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् । हाल जारी त्रिदेशीय सिरिजमा उहाँले चार खेलमा ११ विकेट लिइसकेका छन् । नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएका हुन् ।

लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन् । उनले २५ टी–२० खेलमा ४५ विकेट लिएका छन् । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका थिए ।

टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका हुन् । टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेले । सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेका हुन् । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन् ।

डेब्यु खेलमै कमलसिंह ऐरीको तीन विकेट नेपालका कमलसिंह ऐरीले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको मलेसियाविरुद्धको खेलमा डेब्यु गर्दै २० वर्षीय ऐरीले तीन विकेट लिए । त्रिदेशीय सिरिजअन्तर्गत आजको खेलमा उनले तीन दशमलव एक ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिए ।

ऐरी अविनाश बोहराको स्थानमा टोलीमा समावेश भएका हुन् । उनले आफ्नो दोस्रो ओभरमा मलेसियामा शार्भिन मुनिएन्डीलाई तथा वीरनदीप सिंहलाई पेभेलियन फर्काए भने तेस्रो ओभरको पहिलो बलमा मोहम्मद वाकिफलाई कुशल मल्लद्वारा क्याचआउट गराए । महेन्द्रनगर घर भएका ऐरीले गत वर्ष नेपालमै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

करण केसी विश्व रेकर्ड बनाउनबाट चुके यहाँ जारी त्रिदेशीय टी–२० सिरिजमा नेपाली बलर करण केसी विश्व रेकर्ड बनाउनबाट चुके । मलेसियाविरुद्धको खेलमा उनले उत्कृष्ट ब्याटिङ गरे । आठौँ नम्बरमा ब्याटिङका लागि मैदानमा प्रवेश गर्नुभएका केसीले १३ बलमा ४५ रन बनाए । यस क्रममा उनले सात छक्का हाने ।

केसीले ११ बलमा ४४ रन बनाए । उनले १२औँ बलमा छक्का प्रहार गर्न सकेकाे भए सबैभन्दा छिटो अद्र्धशतकको विश्व रेकर्ड बराबरी हुन्थ्याे । तर केसीले १२औँ बलमा एक रन मात्र बनाउन सके । उनी विश्व कीर्तिमान बनाउनबाट वञ्चित रहे । हाल १२ बलमा अद्र्धशतक प्रहार गर्ने विश्व कीर्तिमान भारतीय क्रिकेट खेलाडी युवराज सिंहको नाममा छ ।

प्रतिक्रिया