शुक्रबार, चैत १६, २०८०

कारोना बढेपछि शुक्रबारदेखि पशुपतिमा नित्य पूजा मात्र हुने

मेरोन्यूज २०७८ वैशाख ९ गते २०:०१

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै शुक्रबारदेखि पशुपतिनाथमा दैनिक नित्य पूजा मात्र हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि पशुपति, गुह्वेश्वरीलगायत मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाइने जनाएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ । देशभरका अधिंकाश धार्मिकस्थलमा नित्य पूजाबाहेक अन्य गतिविधि बन्द गरिएको छ ।

शुपति क्षेत्रका मठ मन्दिरमा नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध गरिएको छ । यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो ।

Advertisement

अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले त्यसबेला विरोधसमेत जनाएका थिए । मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।

प्रतिक्रिया