शनिबार, वैशाख ८, २०८१

‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’

मेरोन्यूज २०७८ वैशाख ९ गते १५:३४

कपिलवस्तु । गर्भावस्थाको जोखिम न्यूूनीकरण र पोषण सुधारका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले ‘घरघरमा झन्डा, हातहातमा अण्डा’ अभियान शुरुआत गरेको छ । शिवराज–१ शिवपुरबाट गर्भवती भेटघाट कार्यक्रमअन्तर्गत गर्भवतीको घरघरमा झन्डा राख्ने र अण्डा वितरण गर्ने अभियान शुरु गरेको हो ।

वडामा रहेका ८० गर्भवतीलाई एकएक क्यारेट अण्डा र घरमा राख्नका लागि हरियो झन्डा प्रदान गरिएको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिए । “गर्भवतीको पहिचानको गर्न तथा आमा र बच्चाको स्वास्थ्यमा परिवारले ध्यान दिऊन् भन्ने उद्देश्यले झन्डा राखिएको हो”, उनले भने, “घरमा राखेको झन्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलाई पहिचान गर्न सहज हुन्छ ।” नगरले गर्भवती र सुत्केरीका लागि पोषिलो खानेकुरासहित घरभेट कार्यक्रमसमेत सञ्चालन गर्ने उनले बताए ।

गत वर्ष पनि सुनौला हजार दिनका महिलालाई घरघरमा भेट कार्यक्रम गरी प्रभावकारी बनेकाले यस वर्ष पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जानकारी दिए । नगरपालिकाले उपमेयर मातृशिशु स्याहार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बहुुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत शिवराज ११ वटै वडाका हजार दिनभित्रका महिलाको स्वास्थ्य अवस्था, जाँच, पोषण, स्याहारजस्ता काम भइरहेको जनाइएको छ । गर्भवतीलाई लक्ष्य गरी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने अन्तिम तयारी गरेको छ ।

निम्न वर्गका महिलालाई सुत्केरी गराउन सिफारिश गर्नुपर्ने अवस्थामा नगरपालिकाको एम्बुलेन्स प्रयोग गरी लैजान सकिने व्यवस्थासहित एम्बुलेन्स सञ्चालन हुने उपप्रमुख थारुले बताए । बालमृत्युदर घटाउन तथा आमा र बच्चालाई स्वास्थ्य राख्न वडाले विभिन्न काम गरेको वडाध्यक्ष जगत जिसीले बताए । वडामा घरमा प्रसूति गराउनेको सङ्ख्या शून्य रहेको जनाउँदै अब गर्भवती तथा सुत्केरीको खानपान रहनसहनमा ध्यान दिन आवश्यक रहेको बताए ।

स्वयंसेविकालाई प्रत्येक गर्भवतीको अवस्था बुुभm्न खटाएको जनाउँदै समस्या भएको ठाउँमा वडाले सहयोग गर्ने उनले जानकारी दिए । शिवराज–१ ले गर्भवतीका लागि स्वास्थ्य जाँच तथा स्वास्थ्य स्याहार तालिमसमेत प्रदान गरेको वडा सदस्य लक्ष्मी हमालले जानकारी दिए । स्वास्थ्य स्वयंसेविका समेत रहेकी उनले वडा कार्यालय महिला र यसमा पनि गर्भवती तथा सुत्केरीप्रति जिम्मेवार रहेको जानकारी दिएन् ।

अझै पनि चेतना अभावले घरमै सुत्केरी हुने, आमा र शिशुको ज्यानसमेत जोखिममा पर्ने भएकाले गर्भवतीका लागि गर्भ जाँच तथा स्वास्थ्य स्याहार तालिम सञ्चालन गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए ।
––– रासस

प्रतिक्रिया