शुक्रबार, वैशाख ७, २०८१

नेपाल कम्युनिष्ट पार्टीको ७२औं स्थापना दिवश

वैचारिक विचलनदेखि टुटफुटसम्म

मेरोन्यूज २०७८ वैशाख ९ गते ९:५२

काठमाडौं । विभिन्न आरोह अवरोह र टुटफुटबाट गुज्रिदै आएका कम्युनिष्ट पार्टीहरुले आज ७२ औं स्थापना दिवस मनाउँदै छन् ।

निरङ्कुश जहानिया राणा शासनका विरुद्धको प्रजातान्त्रिक आन्दोलनका क्रममा २२ अप्रिल १९४९ तदनुसार २००६ साल वैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

तत्कालीन सोभियत संघलाई एकतावद्ध गर्ने विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको जन्म जयन्तीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । बैशाख ९ गते अप्रिल २२ तारिखमा स्थापना भएको कम्युनिष्ट पार्टीको स्थापना दिवस यो पटक भने गते तारिख फरक दिनमा परेको छ ।

यद्धपी लेनिनको जन्म भएको दिनलाई आधार मानेर स्थापना भएकोले बैशाख १० गतेलाई भन्दा अप्रिल २२ तारिखलाई नै कम्युनिष्ट पार्टीले प्राथमिकता दिएका छन् ।

२००६ साल मै सुरु भएको नेपाली कम्युनिष्ट आन्दोलन वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको हो । नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको कम्युनिष्ट नेताहरुले दाबी गर्दै आएका छन् ।

नेकपाका संस्थापक नेता पुष्पलालसँगै नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ थिए । नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा थियोे ।

सोही पर्चाको माध्यमबाट नै नेपालमा संगठित कम्युनिष्ट आन्दोलनको विकास भयो । पूर्ण नागरिक स्वतन्त्रताको लडाइ जिन्दावाद भन्ने उद्घोषका साथ नेकपाले जहानिया राणा शासनको विरुद्धमा अविराम संघर्षको उद्घोष गर्‍यो ।

नेकपाको स्थापना पश्चात १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रम सम्बन्धी पहिलो घोषणा–पत्र जारी भयो । पहाड, पर्वत, खोलानाला जग्गाजमीन सबको, मालिक हामी दास बनौं किन हिस्सा सबमा सबको भन्ने उद्घोषका साथ जारी गरिएको घोषणा–पत्रले सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गर्‍यो ।

पहिलो घोषणा–पत्रमा भनिएको नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्दछ । यसलाई सो बाटोबाट जस्तोसुकै आतङ्क र भूmठो प्रचारले पनि विचलित पार्न सक्ने छैन । २००६ सालमा नेकपाले घोषणा–पत्र जारी गरेको एक वर्ष बित्दा नबित्दै नेपालमा ठूलो राजनीतिक उथल–पुथल देखा पर्‍यो र २००७ साल फाल्गुण ७ गते जहानिया राणा शासनको अन्त्य भयो ।

तर पनि नेकपाको ऐतिहासिक उद्घोष पूर्ण भएको छैन र अहिले पनि त्यो अत्यन्त जीवन्त र सामयिक छ । विभिन्न नाममा कम्युनिष्ट आन्दोलनभित्र देखा परेको अवसरवाद, कम्युनिष्ट पार्टी कै नाममा टुटफुटले गर्दा अघि बढ्न केही व्यवधान नभएको भने हैन ।

कम्युनिस्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए । दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य बने । राणा शासन अन्त्य भएपनि कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिस्ट पार्टीले ४ सिट जितेको थियो ।

तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर २०१६ सालमा पञ्चायती व्यवस्था लागु गरेपछि नेपाल कम्युनिस्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिस्ट पार्टी बिभाजन भयो । पार्टी स्थापनको १० वर्षदेखि सुरु भएको विभाजनको खेल अहिले पनि चलिरहेको छ ।

बिभाजनका बीच झापामा ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्ति मार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका बिभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धारा बन्यो । यद्यपि मोहनविक्रम सिंहले भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् । २००६ सालदेखि अहिलेसम्मको अवधीमा कम्युनिष्ट पार्टीबीच एकतासँगै टुटफुटको राजनीति चलिरहेको छ । पछिल्लो समय आन्तरिक विवादले कम्युनिस्ट पार्टीहरु गुटउपगुटमा विभाजित हुँदा नेताहरुप्रति आममानिसको वितृष्णा बढेको छ ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा कम्युष्टि पार्टीका नेताहरुले एक आपसमा शुभकामना साटसाट गरेका छन् ।

प्रतिक्रिया