बिहीबार, चैत १५, २०८०

‘चिकित्सा शब्दसागर’ विमोचन

मेरोन्यूज २०७८ वैशाख ९ गते ६:४७

काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ ।

डा. विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा. कमल लम्सालले लेखेको उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा. डा. दिव्या सिंह, प्रा. डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रा. डा. सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताइन् ।

काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा. डा. कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गरे ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषदमा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Advertisement

एक हजार ९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा. विपिन नेपालले जानकारी दिए । पुस्तकमा चिकित्सा, नर्सिङ र एप्लाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् ।

उक्त शब्दकोष अङ्ग्रेजी–अङ्ग्रेजी–नेपाली भाषामा रहेको छ । (रासस)

प्रतिक्रिया