शुक्रबार, वैशाख १४, २०८१

बनेपाको आइटी पार्कमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने सरकारको तयारी

आइटी पार्क खुमलटामा स्थानान्तरण गरिने

मेरोन्यूज २०७८ वैशाख ८ गते १९:४९

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा रहेको सूचना प्रविधि उद्यान (आइटी पार्क) मा सेक्यिुरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको अर्थ समितिको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले खुमलटारमा रहेको जग्गामा आइटी पार्क स्थानान्तरण गरिने बताए ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको ठेक्काको प्रक्रियालाई पूरा भइसकेको उनले बताए । हालका लागि अन्तःशुल्क स्टिकर, हुलाक टिकट, लालपूर्जा, सर्टिफिकेटलगायत सामग्री छाप्ने गरी प्रेस स्थापना गर्न लागिएको हो ।

बैठकमा सचिव बस्यालले सरकारको लक्ष्य पूरा गर्न आवश्यक बजेटको प्रबन्ध गरिदिनुपर्नेमा जोड दिए । ‘प्रिन्टिङ प्रेस र आइटी पार्कको ठेक्का सम्झौता पूरा भइसकेकाले कार्यान्वयनका लागि बजेट प्रष्ट हुनुपर्ने छ’, उनले थपे, ‘अर्थ मन्त्रालयबाट ७ अर्ब २८ करोड ५१ लाख रुपैयाँको बजेट सिलिङ प्राप्त भएको छ, तर मन्त्रालयको अनिवार्य दायित्वको खर्च नै ८ अर्ब २९ करोड १० लाख रुपैयाँ रहेको छ ।’

पूँजीगत खर्च १ अर्ब ८४ करोड १४ लाख रुपैयाँ बराबर हुने भएकाले अनिवार्य दायित्व पूरा गर्नेमा अर्थ मन्त्रालयले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

छलफलमा सांसदले नेपाल टेलिकमको सेवालाई सबैको पहुँचमा पु¥याउन र भरपर्दो सेवा दिने गरी काम गर्न आवश्यक कार्यक्रम र बजेट विनियोजन गर्न सुझाव दिए । त्यसबाहेक हुलाक सेवालाई आधुनिक प्रविधिमार्फत व्यावसायिक मोडलमा सञ्चालन गर्नेतर्फ कार्यक्रम बनाउन पनि सांसदको सुझाव थियो ।

प्रतिक्रिया