बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्री र माधव नेपालबीच मेरियट होटलमा भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख ८ गते १८:०२

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) मा नेताहरुका बीचमा बढेको अन्तरविरोध चुलिँदै पार्टी नै विभाजनको डिलमा पुगिरहेका बेला प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच भेटवार्ता शुरु भएको छ ।

नक्सालको मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा भेटवार्ता शुरु भएको हो । भेटवार्तामा अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेल पनि सँगै सहभागी रहेको बताइएको छ ।

बालुवाटारस्थित उच्च स्रोतले मेरोन्यूजलाई दिएको जानकारी अनुसार, भेटवार्तामा पार्टीभित्र उत्पन्न परिस्थिति र यसको समाधानका विषयमा शीर्ष तहमा छलफल गर्ने उद्देश्यले भेटवार्ता भएको हो ।

नेता नेपालसहित उनी पक्षका २७ संघीय सांसदलाई ओलीले ‘संसद्को सदस्य पदबाट किन नहटाउने  ?’ भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको भोलिपल्टै ओली र नेपालका बीचमा भेटवार्ता भएको हो ।

भेटवार्ता अगाडि नेपाल आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग रणनीति बनाएर ओली भेट्न पुगेका हुन् । नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भोलि बुधबार पार्टी एकताको अपिल गर्दै वक्तव्य दिने तयारी गरेको छ ।

ओलीलाई आजै दिउँसो नेपाल पक्षका नेता योगेश भटटराईले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उदार मनका साथ पार्टी एकताको पक्षमा लाग्न आग्रह गरेका थिए । पार्टी एकता जोगाउनुपर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले पहिले उदार मन बनाएर लचकताका साथ प्रस्तुत हुनुपर्ने भन्दै त्यसका लागि आग्रह गरेका थिए । उनले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि शीर्ष तहमा एकचरण वार्ता गर्न आग्रह गरेर फर्केका थिए ।

त्यसपछि नेपाल र ओलीका बीचमा अहिले भेटवार्ता शुरु भएको उच्च स्रोतले जनाएको छ । नेपाल पक्ष र ओली पक्षका बीचमा यस अगाडि चैत २ गते धूम्रबाराहीस्थित पार्टी कार्यलयमा भेटवार्ता भएको थियो । त्यसबेला ओलीले माधव पक्षलाई राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेको थियो भने नेपाल पक्षले ओलीले फागुन २८ मा माधव नेपाल पक्षको अनुपस्थितमा गरेको निर्णय नमान्ने भन्दै त्यसलाई अश्वीकार गर्ने बताएको थियो ।

त्यसपछि झन् बढ्दै गएको विवाद पछि ओलीले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाको लागि निलम्बन गरेका छन् ।

अहिले कांग्रेस र माओवादीले अविश्वास प्रस्ताव ल्याउन सक्ने र त्यसमा नेपाल पक्षले आफ्नाविरुद्ध कांग्रेस, माओवादीको गठबन्धनमा लागेर मत दिन सक्ने ठानेर नेपालसहितका सांसदलाई सपष्टीकरण सोधेको छ । मंगलबार स्पष्टिकरण सोधेपछि एमाले विवाद विभाजनको डिलमा पुगेको अनुमान लगाउन थालिएको छ ।

यही बेला ओली र नेपालका बीचमा भएको भेटवार्ता अर्थपूर्ण रहेको छ ।

प्रतिक्रिया