शुक्रबार, वैशाख १४, २०८१

कांग्रेसको क्रियाशील सदस्यता लिने अन्तिम म्याद बैशाख १५ सम्म

चार जिल्लामा बैशाख मसान्तसम्म भर्न पाइने, १० लाख संख्या कट्ने अनुमान

सञ्जिता खनाल २०७८ वैशाख ८ गते ७:३९

काठमाडौं । कांग्रेसले चार जिल्ला बाहेक अन्य जिल्लामा बैशाख १५ गतेभित्र क्रियाशील सदयस्यता वितरण तथा नवीकरण गरिसक्न निर्देशन दिएको छ । चार जिल्ला बाहेका क्रियाशील सदस्यता वितरण र नवीकरण विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


तर, बारा र सोलुखुम्बुमा केही दिनअघि मात्रै क्रियाशील सदस्यता बाँड्न थालेकाले वैशाख मसन्तसम्म समय दिइएको छ । समायोजन विवादका कारण सप्तरी र सिन्धुपाल्चोकमा वैशाखभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने सोमबार बसेको काग्रेस बैठकमा उपस्थित एक केन्द्रिय सदस्यले मेरो न्युजलाई जानकारी दिए ।

कांग्रेस केन्द्रिय समितिको बैठकले वैशाख १५ गते राति १२ बजेभित्र क्रियाशील सदस्यता वितरण गरेर त्यसको विवरण सफ्टवेयरमा इन्ट्री गरिसक्नु पर्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । “हालसम्म सफ्टवेयरमा करिब ६ लाख क्रियाशील सदस्यको विवरण इन्ट्री भइसकेको छ,”उनले भने,“ अहिले धमाधम क्रियाशील सदस्यको विवरण सफ्टवेरमा इन्ट्री गर्ने काम भइरहेको छ ।”


यसपटक क्रियाशील सदस्यको संख्या १० लाख कट्ने उनले जानकारी दिए । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाको हकमा केन्द्रीय कार्यालयबाट वैशाख १५ भित्र क्रियाशील सदस्यता फारम जिल्लामा पठाइसक्नु पर्ने पनि समय तोकिएको छ । क्रियाशील सदस्यको विवरण केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका रमेश लेखक ले पार्टीको वेवसाइटबाट सार्वजनिक गरिने बताए ।

गत चैत २७ गते बसेको कांग्रेसको केन्द्रिय पदाधिकारी बैठकले समेत छिटो क्रियाशिल सदयस्यता वितरण तथा नवीकरण विषयमा छलफल गरेको थियो तर उक्त वैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति शेरवहादुर देउवा अनुपस्थित थिए । सो बैठकले क्रियाशिल सदस्यको म्याद केही थप गर्ने निर्णय गरेको थियो । तर मिति तोकेको थिएन् ।


चैत २९ गते कांग्रेस केन्द्रिय समितिको बैठक बोलाइएको थियो तर बरिष्ठ नेता रामचन्द्र पौडेलका भाइसको निधन कारण सभापति देउवाले बैठक स्थगित गरेका थिए । बैशाख ६ गते बसेको बैठकले बैशाख १५ गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले क्रियाशीलको विवरण, सदस्यता शुल्क र लेवीलगायत कागजात वैशाख १७ भित्र बेलुका ५ बजेभित्र केन्द्रमा पठाउन सोमबारको केन्द्रीय समितिको बैठकले जिल्ला कार्यसमितिलाई निर्देशन दिएको एक केन्द्रिय सदस्यले जानकारी दिए । कांग्रेसले राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनिलबहादुर थापा पक्षका नेता÷कार्यकर्तालाई पनि क्रियाशील सदस्यता दिने तयारी छ ।


विजय कुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेपछि उक्त पार्टीका २५ हजार बढीलाई क्रियाशील सदस्यता दिने कांग्रेसको तयारी रहेको छ । १३ औं महाधिवेशन हुँदा चार लाख ८० हजार हाराहारीमा मात्रै कांग्रेसको क्रियाशील सदस्य थिए । कांग्रेसले १४ औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने मिति तय गरिसकेको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया