शुक्रबार, चैत १६, २०८०

नारायणगढ–मुग्लिन सडकमा केही पुल सम्पन्न, केही धमाधम बन्दै

मेरोन्यूज २०७८ वैशाख ७ गते २१:२६

चितवन । राजधानी काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकखण्डमा केही पुल निर्माण सम्पन्न भएका छन् भने केही धमाधम निर्माण भइरहेका छन् । सडक विस्तारको काम सम्पन्न भएपछि साँघुरा र जीर्ण अवस्थामा रहेका सबै पुल नयाँ बनाउन थालिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार चार वटा पुल सम्पन्न भएका छन् भने १५ वटा पुल निर्माणको चरणमा छन् । ती १५ मध्ये आठ वटाको फाउण्डेशनको काम सम्पन्न भएको छ । तीमध्ये पनि तीन वटाको माथिल्लो काम भइरहेको छ । बाँकी सात वटा पुलको नक्शाङ्कन र प्रमाणितको चरणमा रहेका छन् ।

हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने उनले जानकारी दिए । हालै मात्र जलवीरेको पुल सम्पन्न भएको छ । उक्त पुल बनेपछि सडकसमेत २६५ मिटर छोटो भएको छ । गतवर्ष कोरोना सङ्क्रमणबाट काम प्रभावित बनेको पुलको काम हाल सकिएको हो ।

रिमालका अनुसार एक/दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी गरिएको छ । पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल रु १३ करोड ९४ लाखको लागतमा बनाएको हो । यो पुलसँगै दासढुङ्गा, खानी र मौरी निर्माण थालिएको थियो । ती पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा आएका छन् । जलवीरे पुल सम्पन्न हुन तीन वर्ष ६ महिना लागेको हो ।

हाल निर्माण भइरहेका १५ पुल नक्शाङ्कन र निर्माण दुवै गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का पाएको हो । रु एक अर्ब २८ करोड लागतमा ३३ महिनामा सम्पन्न गर्ने गरी अनकलाई ठेक्का दिइएको हो । ती पुलमध्ये तीन वटा नौ मिटर फराकिलो छन् भने बाँकी ११ मिटर फराकिला छन् । आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार साँघुरा पुलमा पनि सवारी गुड्ने भाग भने ७.५ मिटर नै हुनेछन् । तर फुटपाथ भने साँघुरो हुने उनको भनाइ छ ।

Advertisement

ती पुल नेपाल सरकारले आफ्नै लगानीमा सम्पन्न गरेपछि विश्व बैंकले ऋण प्रवाह गर्ने गरी काम अघि बढाइएको हो । सडक विस्तार गरी कम्तीमा नौ मिटर बनाईएको भए पनि पुल छ मिटर फरकिला भएपछि सबै पुल नयाँ बनाउन लागिएको हो । यो सडकमा दैनिक १० हजार भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया