शुक्रबार, वैशाख ७, २०८१

सार्वजनिक स्थानमा नथुक्न जिल्ला प्रशासन काठमाडौंको आग्रह

मेरोन्यूज २०७८ वैशाख ७ गते १९:१९

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा बढेको भन्दै नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।

प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ । विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न पनि प्रशासनको अपिल छ ।

यस्तै पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ । प्रशासनको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने जिल्ला प्रशासन काठमाडौँले चेतावनी दिएको छ ।

प्रतिक्रिया