शुक्रबार, वैशाख ७, २०८१

एमालेको आगामी कार्यभार के हुनुपर्छ ?

केपी शर्मा ओली, प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले २०७८ वैशाख ७ गते १२:५८


परिवर्तित सन्दर्भमा अब हाम्रो ध्यान मूलतः तीनवटा विषयमा केन्द्रित हुनुपर्छ – पार्टीको सुदृढीकरण तथा शुद्धीकरण, समृद्धिको अभियान र नयाँ निर्वाचनको तयारी ।


क) पार्टीको शुद्धीकरण र सुदृढीकरण

विगत केही समय यता पार्टी निकै अस्तव्यस्त अवस्थामा रहेको छ । नवौं महाधिवेशनपछि लगत्तैदेखि हामी विशेष अभियानहरुमा केन्द्रित रहनु पर्यो– संविधान निर्माण, भूकम्पपछिको राहत र उद्धारका लागि स्वयंसेवी अभियान, नाकाबन्दीको प्रतिरोध, स्थानीय निर्वाचन र आम निर्वाचनको तयारी ।

यसले गर्दा हामीले नवौं महाधिवेशनबाट परिकल्पना गरेको पार्टी निर्माणमा पर्याप्त समय दिन पाइरहेका थिएनौं । महाधिवेशनमा प्रतिष्पर्धामा उत्रिएका तर परिणामलाई स्वीकार्न नसक्ने पार्टीभित्रकै केही नेताहरुको अन्त्यहीन असहयोग छँदै थियो । पार्टी पूर्णरुपले व्यवस्थित हुन नपाउँदै हामी नेकपा (माके) सँग एकीकरण प्रक्रियामा सामेल भयौँ ।

एकीकरणको अवधिभर पार्टी विचारधारात्मक रुपमा अन्यौलग्रस्त, सङ्गठनात्मक रुपमा लथालिङ्ग, भावनात्मक रुपमा विभाजित र उद्देश्यबाट बरालिएको जस्तो हुन पुग्यो । एमालेभित्रको गुटगत अवस्था र माके भित्रको सङ्गठनात्मक तदर्थवाद मिसिएर पार्टीको आन्तरिक जीवन अस्तव्यस्त बन्यो । यसका असरहरु अझै विद्यमान छन् ।


सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिको अगुवाइ गर्ने भूमिकामा रहेकोपार्टी अब यस्तो अवस्थामा रहिरहनु हुँदैन । अब पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सङ्गठनात्मक रुपमा चुस्त र अनुशासित, कमरेडली भावनाले एकतावद्ध, गतिका हिसाबले बेगवान, जनताको भावनाको प्रतिनिधित्व गर्न सक्षम र नयाँ अभिभारा पूरा गर्न सक्ने गरी सुदृढ बनाउनु पर्छ । यसका लागि :


– नेकपा (एमाले) लाई एकीकृत र कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित गर्नु पर्छ ।


आजको नेकपा (एमाले) कानुनी हिसाबले २०७५ जेठ ३ गते पूर्वको पार्टी भए पनि यो नयाँ ढङ्गले एकीकृत र पुनर्गठित पार्टी हो । यसमा हिजो माओवादी केन्द्रमा रहनुभएका जिम्मेवार कमरेडहरु पनि समाहित हुनुभएको छ । कानुनी हिसाबले नेकपा (एमाले) र नेकपा (माके) अलग भए पनि आज नेकपा (एमाले) ले माओवादी आन्दोलनका क्रममा विकसित कतिपय असल परम्परा र धारको पनि प्रतिनिधित्व गर्छ ।

त्यसैले यसलाई एकीकृत पार्टीकै रुपमा बुझ्नु र विकास गरिनुपर्छ । कम्युनिष्ट आन्दोलनका सबै असल परम्पराहरुको उत्तराधिकारी पार्टी र एकीकृत शक्तिका रुपमा यसलाई अगाडि बढाउनु पर्छ । वैचारिक, सङ्गठनात्मक र भावनात्मक अन्तरघुलन एवं एकतामा विशेष ध्यान दिनु पर्छ ।
– वैचारिक कामलाई प्रभावकारी बनाउनुपर्छ ।
विगत तीन वर्षको अवधिमा पार्टीमा वैचारिक काम पूर्णतः उपेक्षित रह्यो । एकीकरणका क्रममा महत्वपूर्ण वैचारिक प्रश्नलाई थाँती राखिएकोत थियो नै । पछि नेपाली क्रान्तिको सिद्धान्तका रुपमा सही सिद्ध भएका जनताको बहुदलीय जनवादको छलफललाई समेत निषेध गर्ने, त्यसको विरोध गर्ने काम भए ।

जसलाई जे उचित लाग्छ त्यही बोल्दै हिंड्ने, नेतृत्वको विरोध गर्ने नाममा परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा, कुटनीति र सांस्कृतिक संवेदनशीलतालाई पनि विवादित बनाउने र पार्टीमा बहुकेन्द्र निर्माण गर्ने जस्तो बिडम्बनापूर्ण स्थिति सिर्जना भयो । अब त्यस्तो हुनुहुँदैन । पार्टी पङ्क्तिलाई, विशेष गरी नयाँ पुस्तालाई हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवादबाट, दार्शनिक विश्वदृष्टि द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादबाट र नेपाली क्रान्तिका सिद्धान्तबाट प्रशिक्षित गरिनु पर्छ ।

हामी स्पष्ट हुनुपर्छ – माक्र्सवादको प्रशिक्षण भनेको यसका शास्त्रीय ग्रन्थहरुको पुनरुक्ति गर्नु या बिना सन्दर्भ यसका सूत्रहरुको उल्लेख गर्नु होइन । माक्र्सवादको अध्ययन या व्याख्या भनेको वुद्धिविलास होइन, व्यवहारमा तिनको सिर्जनात्मक कार्यान्वयन हो । आजको सन्दर्भमा माक्र्सवाद कार्यान्वयनलाई पुस्तक, कार्यपत्र या लम्बेतान प्रवचनमा होइन, सामाजिक रुपान्तरणका हाम्रा दैनिक अभियानमा, तथ्य र तथ्याङ्कमा मापन गर्नु पर्छ । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने कागजी कसरत माक्र्सवाद हुन सक्दैन ।


नेपाली क्रान्तिको विगत ३० वर्षको अवधिले जनताको बहुदलीय जनवादको सहीपनालाई पुष्टि गरेको छ । यसलाई आजको सन्दर्भमा सही ढङ्गले बुझ्ने र परिवर्तित सन्दर्भमा थप समृद्ध गर्ने गरी वैचारिक कामलाई अगाडि बढाउनुपर्छ । यसका अतिरिक्त नेपाली काङ्ग्रेसका यथास्थितिवाद, प्रचण्डको अवसरवाद र माधव नेपालको विभाजनकारी प्रवृत्तिको आलोचनालाई पनि वैचारिक कार्यसूचीमा राख्नुपर्छ र पार्टी पङ्क्तिलाई स्पष्ट पार्नु पर्छ ।

परिवर्तित भूराजनीति र विश्वको राजनीतिक शक्ति सन्तुलन, वामपन्थी आन्दोलन सामुका चुनौती र अवसर, श्रम, श्रम शोषण र उत्पादन पद्धतिको परिवर्तित स्वरुप, राज्य सञ्चालनका मूल विषय, संविधान र कानुनी प्रबन्ध, विकास निर्माणसम्बन्धी हाम्रा दृष्टिकोण र दिशा, सुशासन लगायत नयाँ प्रश्नहरुमा दखल हासिल गर्ने गरी पार्टी पङ्क्तिलाई प्रशिक्षित गरिनुपर्छ ।

– पार्टीलाई सङ्गठनात्मक हिसाबलेचुस्त, अनुशासित र प्रभावकारी बनाउनुपर्छ ।
यसबीचको अभियानबाट हामीसँग जोडिएका युवा पुस्ताको पार्टीप्रतिको आकर्षणलाई सङ्गठनात्मक आवद्धतामा बदल्नु पर्छ र त्यसलाई वैचारिक स्पष्टतामा परिवर्तन गर्न योजनावद्ध प्रयाश गर्नु पर्छ ।

हाम्रा साबिक कमिटीहरुलाई क्रियाशील बनाउने, त्यसमा पूर्व माओवादी केन्द्रबाट आउनु भएका कमरेडहरुलाई जिम्मेवारीसहित आवद्ध गर्ने, कमिटीहरुका नियमित बैठक बस्ने, समानान्तर गतिविधि हुन नदिने र गुटगत क्रियाकलापमा सङ्लग्न सीमित व्यक्तिहरु बाहेक धेरैभन्दा धेरैलाई पार्टीको मूलधारमा समेट्नुपर्छ ।


– पार्टीलाई अझ बढी जनआधारित र व्यापक बनाउनुपर्छ ।
पार्टी विस्तार गर्ने क्रममा हाम्रो ध्यान माथिका नेताहरुलाई तुष्टिकरण गर्नेभन्दा आम जनताको मन जित्ने कुरामा केन्द्रित हुनुपर्छ । बारम्बार अवसर पाएर ‘परिक्षण’ भइसकेका र आफ्नो पद, प्रतिष्ठा र परिवारभन्दा पर हेर्न नसक्ने पुस्ताभन्दा नयाँ, उर्जावान, तार्किक र देशका लागि केही गर्न चाहने नयाँ पुस्ता नै आन्दोलनको भविष्य हो, हाम्रो ध्यान यिनैमा केन्द्रित गर्नु पर्छ ।

सरकारका कामहरुबाट प्रभावित भएर नेकपा (एमाले) मा प्रवेश गर्न चाहने र राजनीतिक स्थायित्व, राष्ट्रियता र समृद्धिको अभियानलाई सघाउन चाहने ठूलो पङ्क्ति हाम्रो पार्टीमा समाहित हुन प्रतिक्षारत छ । त्यस पङ्क्तिसमक्ष तत्काल पुग्ने, पार्टीमा समाहित गर्ने, उपयुक्त ढङ्गले प्रशिक्षित गर्ने र उपयुक्त जिम्मेवारी दिने अभियानलाई तीव्रता दिइनुपर्छ ।


– दसौं राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनुपर्छ ।
हामीले आगामी २०७८ मङ्सिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेका छौं । यसका लागि निर्धारित समयभित्रै पार्टी सदस्यता नवीकरण गरिसक्ने, टोल र प्रारम्भिक कमिटीदेखि नै अधिवेशनहरु सम्पन्न गर्ने र निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई नयाँ जिम्मेवारीका लागि तयार बनाउनुपर्छ ।


ख) समृद्धिको अभियान
हामीले बुझ्नैपर्छ- आज हाम्रा कामहरुकोमुख्य क्षेत्र संसद र सरकार, प्रदेशसभा र प्रदेश सरकार तथा स्थानीय तह र स्थानीय सरकार हुन् । हाम्रो कामको केन्द्रबिन्दु सामाजिक–आर्थिक रुपान्तरण र समृद्धि नै हो । हाम्रो योग्यता र अयोग्यताको मापन प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्दै यी निकायको नेतृत्वमा पुग्न सक्छौँ कि सक्दैनौ, त्यहाँ पुगेर समृद्धिको अभियानमा अनुभूत गर्ने गरी काम गर्न सक्छौं कि सक्दैनौं भन्ने कुराले तय गर्छ । जनवादी व्यवस्था सुदृढ गर्ने, राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने र समाजवादको आधार निर्माण गर्ने जस्ता विषयहरु अमूर्त, वुद्धिविलास र माक्र्सवादका शास्त्रीय रचनाहरुको पुनरोक्ति या उद्धरणका विषय होइनन् ।


हामीले प्रति वर्ष कति नागरिकहरुलाई गरिबीबाट माथि उठाउन सक्यौँ, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत सुविधाहरुमा जनताको पहुँचलाई कति विस्तार गर्न सक्यौँ, कति नागरिकहरुलाई रोजगारी–स्वरोजगारीमा जोड्न र उनीहरुको आर्थिक क्षमतालाई सुदृढ गर्न सक्यौं र मुलुकलाई परनिर्भरताबाट मुक्त गर्न सक्यौँ भन्ने कुरा नै माक्र्स र समाजवादप्रतिको निष्ठा र बुझाइलाई प्रमाणित गर्ने विषय हुन् । यस बदलिँदो कार्यभारलाई सबैले गम्भीरतापूर्वक बुझ्नैपर्छ ।


ग) नयाँ निर्वाचनको तयारी
प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महिनाभित्रै नयाँ निर्वाचन हुने छ । स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ । त्यसैले सहज अवस्थामै पनि निर्वाचनको तयारीमा लाग्नु पर्ने आवश्यकता छ । तर मुलुकको तरल राजनीतिका कारण हामी छिटो निर्वाचनमा जानुपर्ने संभावना पनि बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पङ्क्तिलाई हमेशा तयारी अवस्थामा राख्नुपर्छ ।

कमरेडहरु, यसबीचमा हामी गंभीर परिस्थितिबाट गुज्रेका छौँ । केही नेताहरुका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण पार्टीलाई मात्र सङ्कटमा पारिएन, सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप प्रतिक्रियावादी शक्तिहरुसँगको साँठगाँठमा प्रधानमन्त्री, मुख्यमन्त्री र अन्य संस्था उल्ट्याउने कोशिस भए । यो श्रमजीवी वर्गको सरकार ढलाएर वुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण षडयन्त्र थियो । यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभिएको छ ।


पूर्व माओवादी पृष्ठभूमिका धेरै कमरेडहरु राजनीतिक जोखिम मोलेर आन्दोलनको प्रतिरक्षा र एकतामा दह्रो गरी उभिनुभएको छ । प्रतिवद्ध नेता कार्यकर्ताहरुको सक्रियता र आम जनताको साथ-सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको उक्त चक्रव्यूहबाट बाहिर आउन सफल भएको छ । अदालतको आदेशलाई कार्यान्वयन गर्दै विद्यमान राजनीतिक शक्ति सन्तुलन भित्रै राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी प्रयत्नशील छौँ ।

सरकारमा रहँदा जनता र देशको हितमा अधिकतम परिणाम दिने गरी काम गर्ने, प्रतिरक्षामा रहनु परे तदनुरुपकै प्रभावकारी भूमिका खेल्नेर जुनसुकै पनि बेला निर्वाचनमा जान तयार रहने गरी हाम्रो पार्टी पङ्क्ति क्रियाशील हुनुपर्छ ।


अब हामी पार्टीलाई अनुशासित, एकतावद्ध, गतिशील, जनआधारित कार्यकर्ता कम्युनिष्ट पार्टीका रुपमा अझ सुदृढ गर्छौं र जनताको मनमनमा भिजेको पार्टी बनाउँछौँ । शुद्धीकरण र सुदृढीकरण साथसाथै अघि बढाउँछौं । विगतमा हाम्रो अधिकांश समय नेताहरुको व्यवस्थापनमा खर्च भएको छ । हाम्रो ध्यान अब बढी भन्दा बढी जनताका समस्यामा केन्द्रित हुन्छ ।

पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन । त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अलमलिएका, भड्कावपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरुलाई पार्टीमा फर्किन पुनः आह्वान गर्छौँ । विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिनेछ । सबैलाई सम्मानपूर्वक काम दिइनेछ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन । आउनुहोस्, एकतावद्ध भएर उच्च मनोबलका साथ अगाडि बढौं, हामी सफल हुनेछौँ ।

(एमाले अध्यक्ष ओलीले पार्टी महाधिवेशन आयोजक समितिको वैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनवाट )

०००

प्रतिक्रिया