शुक्रबार, चैत १६, २०८०

घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जना ट्राफिक महाशाखाको नियन्त्रणमा

मेरोन्यूज २०७८ वैशाख ६ गते २१:२३

काठमाडौं । तारकेश्‍वर नगरपालिका-६ पैयुटार स्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ घर भई हाल तारकेश्‍वर नगरपालिका-९ बस्ने वर्ष २० को नमराज अधिकारी र वर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका-३ घर भई हाल तारकेश्‍वर नगरपालिका-९ बस्ने वर्ष १९ को रामचन्द्र थापा रहेका छन् ।

तारकेश्वर नगरपालिका १० नं वडा कार्यालय शुभकामना चोक स्थित सडकखण्डमा वास्तविक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिँडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सिसीको कालो रातो रङ्गको पल्सर मोटरसाइकल रहेको खुल्न आएको छ । नियन्त्रणमा लिइएकाे मोटरसाइकल गत चैत २७ गते तारकेश्‍वर– ६,पैयुटारबाट हराएको थियाे । पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले पछिल्लो समय उपत्यकाको विभिन्न स्थानबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान चलाएको छ । यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महशाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया