शुक्रबार, चैत १६, २०८०

नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा एनआरएनको १० अर्ब लगानी

मेरोन्यूज २०७८ वैशाख ६ गते १९:५२

काठमाडौं । एनआरएन नेपाल डेभलप्मेन्ट फण्डमार्फत गैरआवासीय नेपाली संघले नेपालको उद्यम, व्यवसाय र पूर्वाधार क्षेत्रमा १० अर्बको कोष खडा गरेर लगानी गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा एनआरएन नेपाल डेभलप्मेन्ट फण्डका अध्यक्ष डा उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई लक्षित गरी १० अर्बको कोषलाई छिट्टै प्राथमिक शेयर निष्काशन गरिने जानकारी दिए । कोषमा नेपाल सरकारको ५ प्रतिशत शेयरसमेत रहेको छ ।

उनले १० अर्बको कोषलाई ५० अर्ब बनाएर संस्थागत रुपमा नेपालीको लागनीबाट नेपाल बनाउने अभियानमा लागिएको बताए । अध्यक्ष महतोले चुनौतीसँगै चालिएको व्यक्तिगत लगानीलाई सामूहिकमा लैजाँदा छिट्टै प्रगति हुने भएकाले कोषको प्रवद्र्धन, पूँजी परिचालनलगायत विभिन्न लगानीयोग्य कोषको निर्माणसहित पूँजी र प्रविधिलाई अगाडि बढाउने दाबी गरे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विदेशी लगानी भित्राउनका लागि एनआरएनको परिकल्पनालाई साकार पार्न सरकारले सक्दो सहयोग गर्ने बताए । उनले राष्ट्रको विकासका लागि कानुनी, नीतिगत रुपमा सुधार गर्दै अघि बढ्ने धारणा राखे । उनले नेपालको विकासका लागि लगानी भित्राउन अवैध पूँजी हुन नहुने, बैंकिङ प्रणालीमार्फत रकम भित्र्याउनुपर्ने र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी हुनुपर्नेमा जोड दिए ।

अर्को एक प्रसंगमा अर्थमन्त्री पौडेलले नेपाल हिंसाबाट शान्तिमा प्रवेश गरेकाले लगानीको वातावरण दरिलो बन्दै गएको बताए ।

Advertisement

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्तले २०७५ चैत १६ को लगानी सम्मेलनमा भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि गत चैत ३० गते एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड कम्पनी दर्ता भएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थसचिव शिशिरकुमार ढुंगानालगायतले कोषमार्फत मातृभूमिको समृद्धिमा लाग्ने गैरआवासीय नेपालीको चाहनाको प्रसंशा गरेका थिए ।

प्रतिक्रिया