शुक्रबार, चैत १६, २०८०

कांग्रेसले क्रियाशील सदस्यता वितरण अझै टुङ्ग्याउन सकेन

आज पनि केन्द्रीय समितिमा छलफल हुने

मेरोन्यूज २०७८ वैशाख ६ गते ८:५०

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सानेपामा अपरान्ह ४ बजे बस्ने बैठकमा महाधिवशेनको तयारीका विषयमा भइरहेको प्रगतिसँगै समसामयिक विषयमा छलफल हुने नेतृ पुष्पा भुषालले जानकारी दिइन् ।

यसअघि हिजो दिउँसो बस्ने भनिएको बैठक संस्थापन र इतर पक्षबीच सहमति हुन नसक्दा स्थगित भएको थियो । हिजो कै बैठकका एजेन्डामाथि आज छलफल हुन लागको नेतृ भुषाालले बताइन् ।

१४ औं महाधिवेशनको कार्यतालिका अन्तर्गतको क्रियाशील सदस्यता दर्ताको विषयमा छलफल हुने नेता प्रदीप पौडेलले बताए । गत चैत मसान्तसम्ममा क्रियाशील सदस्यता दर्ता प्रक्रिया सक्ने भने पनि कांग्रेसले हालसम्म ६ लाखको मात्र नाम दर्ता भएको छ ।

क्रियाशील सदस्य ९ लाख बनाउने लक्ष्य रहेको कांग्रेसले बताउँदै आएको छ । क्रियाशील सदस्यको नाम दर्ता गर्न अझै समय थप्न पर्ने भएको छ ।

Advertisement

दर्ताको काम सकिएपछि छानविन गर्नुपर्ने भएकाले आगामी भदौमा महाधिवशेन गर्न यही रफ्तारमा काम गर्दा नभ्याउने पौडेलको भनाई छ ।

भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले अब कार्यतालिका केही संशोधन गरेर भएपनि फास्ट ट्रयाकबाट काम गर्नुपर्ने पौडेल बताउँछन् ।

यसअघि चैत २१, २७ र ३० गते बोलाएको बैठकमा पनि क्रियाशील सदस्यता वितरण गर्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति हुन नसक्दा बैठक सर्दै आएको थियो ।

आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम, नयाँ सरकार बनाउन माओवादी केनद्रले गरिरहेको पहल लगायत विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया