शुक्रबार, वैशाख ७, २०८१

गृहमन्त्री बादलद्वारा शपथ ग्रहण, प्रधानमन्त्री ओलीको ‘थम्सअप’

मेरोन्यूज २०७८ वैशाख ५ गते १७:५५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई पद तथा गोपनियताको शपथ ग्रहण गराइन्। दौरा सुरवालमा सजिएर आएका बादललाई प्रधानमन्त्री केपी ओली नजिकै आएर राम्रो भएको संकेत गर्दै ‘थम्सअप’ गरेका थिए । प्रधानमन्त्रीले आफ्नो र गृहमन्त्रीको एउटै ड्रेस भएकाे तर्फ इंगित गर्दै ‘ल ड्रेस मिल्यो ‘ भनेपछि हलमा केहीबेर हाँसाे छाएकाे थियोे ।

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा समाहित भएसँगै राष्ट्रियसभा सदस्य र मन्त्री पद गुमाएका ‘बादल’ले पुनः गृहमन्त्रीका रुपमा शपथ लिएका हुन् ।

राष्ट्रपतिद्वारा बादल गृहमन्त्रीमा पुनः नियुक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा समाहित भएका बादलको सासंद पद रिक्त गराउन माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई लिखित पत्र दिएको थियो । संसद् सचिवालयले आइतबार बिहान बादलको सांसद पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

गृहमन्त्री बादल माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । माओवादीले एमालेमा समाहित भएका प्रतिनिधिसभाका चार सांसदको पद पनि खोसेको थियो । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो ।

प्रतिक्रिया