शुक्रबार, चैत १६, २०८०

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ५ गते १५:२२

काठमाडौं । नवलपरासी (पूर्व), सुनसरी, भक्तपुर, सर्लाही, मोरङ र धनुषाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।

नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा बुटवलबाट नारायणघाटतर्फ आउँदै गरेको ना.५ ख ७००० नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा ईलाम बस्ने २५ वर्षीया धनु दर्लामी लगायत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ४ जनाको पुरानो मेडिकल कलेज र २० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी । ईटहरी उपमहानगरपालिका(६ पश्चिम लाईनस्थित सडकमा ना.५ ख ११११ नम्बरको बसले को.३३ प ३२४० नम्बरको मोटरसाइकललाई शनिबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक ईटहरी बस्ने ४२ वर्षीय बीरेन्द्र चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

भक्तपुर । चाँगुनारायण नगरपालिका-७ बागेश्वरी ठुलीगाउँस्थित सडकमा बा.९० प १२७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको नालीमा खसेर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही । लालबन्दी नगरपालिका-७ डुमडुमेस्थित सडकमा प्रदेश २-०२-००३ प ०४९८ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धनुषा जनकपुर उपमहानगरपालिका-१८ बस्ने २७ वर्षीय संजित
दासको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय सुनिल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित सडकमा को.२७ प ६४५९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक रंगेली नगरपालिका-२ बस्ने २३ वर्षीय भोला शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका-३ बस्ने २२ वर्षीय कासमिक मुर्मुको सोही अस्पतालमा उपचार भईरहेको छ ।

धनुषा । लक्ष्मिनिया गाउँपालिका-४ सपहिचोकस्थित सडकमा ज.६ प ५१ २८ नम्बरको मोटरसाइकल सडक निर्माण भईरहेको डाईभर्सन बोर्डमा ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम,थर, वतन नखुलेका व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले तत्काल उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया