बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन

३५ दिनभित्र बादल फेरि राष्ट्रियसभा सदस्य बन्लान् ?

राष्ट्रियसभाको चुनावी अकंगणित बादलको पक्षमा

मेरोन्यूज २०७८ वैशाख ५ गते १५:१२

काठमाडौं । पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका नेता तथा सांसदलाई एकपछि अर्को कारवाही गर्दै आएको नेकपा (माओवादी केन्द्र)ले पछिल्लो समय राष्ट्रियसभा सदस्य रामबहादुर थापा’बादल’लाई पनि सांसद पदबाट हटाउन सिफारिस गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका थापालाई पार्टीको हित विपरित काम गरेको भन्दै माओवादीले राष्ट्रियसभा सदस्यबाट हटाउन संघीय संसद् सचिवालयलाई चैत २७ गते शुक्रबार पत्राचार गरेको थियो ।

माओवादी केन्द्रले संविधानको धारा ८९ को (ङ) बमोजिम थापालाई राष्ट्रियसभा सदस्यबाट हटाउन सिफारिस गरेको हो । सिफारिसअनुसार संसद् सचिवालयले आज सूचना टाँसेर बादललाई पदमुक्त भएको जानकारी गराएको छ । नियमावलीमा अधिवेशन चालु नरहेका अवस्थामा सचिवालयले सूचना टाँसेर जानकारी गराउन सक्ने व्यवस्था छ ।

बादल पदमुक्त भएको सूचना टाँसेको ३५ दिनभित्र निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ मा व्यवस्था छ । सो ऐनको दफा ६१ मा कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त सदस्यको बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नेछ भन्ने उल्लेख छ ।

राष्ट्रियसभा सदस्य पदबाट हटेपनि संविधानको धारा ७८ बमोजिम बादल थप ६ महिना मन्त्री बन्न पाउनेछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट फेरि विजयी भए उनको मन्त्री पद ६ महिनापछि पनि सुनिश्चित रहन्छ ।

अबको खेल
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा भएको व्यवस्था अनुसार अब उपनिर्वाचनमा जानुपर्छ । बादल बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनको स्थानमा हुने अबको उपनिर्वाचनमा बागमती प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । २०७४ सालमा भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा अन्य दलको तुलनामा एमालेले अत्यधिक सिट जितेको छ । राष्ट्रिय सभा सदस्यको लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुखरउपप्रमुख मतदाता हुने भएकाले पनि मतपरिणाम स्पष्ट जस्तै देखिन्छ । उपनिर्वाचनमा एमालेको तर्फबाट बादल उम्मेदवार बन्ने सम्भावना अत्याधिक छ ।

मतदाता कति छन् ?
अब हुने उपनिर्वाचनका लागि वागमती प्रदेश सभा सदस्य ११० जना छन् । जसमा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २र२ जना र जनता समाजवादी पार्टीका १ जना छन् ।

अर्थात ११०मा बहुमत सदस्य एमालेका छन् । स्थानीय तहमा एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपा १ जना छन् । मतदान गर्न पाउने स्थानिय तहका २३८ मत मध्ये एमालेकोमात्रै १३३ र अन्यसबै दल जोड्दा १०५ मत हुन आउँछ ।

अंकगणीतिय समिकरण
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को अनुसूची १ मा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुखको मतभार १८ तोकिएको छ ।

यसरी हेर्दा प्रदेशमा एमालेको मतभार २७३६, माओवादी केन्द्रको ११०४, कांग्रेसको १०५६, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको ९६/९६ र जसपाको ४८ हुन आउँछ । स्थानीय तह तर्फ एमालेको २३९४, कांग्रेसको १२०६, माओवादीको ५९६, राप्रपा र नेमकिपाको ३६/३६ र जसपाको १८ हुन आउँछ ।

परिणाम
प्रदेश र स्थानीय तहको मतभार जोड्दा एमालेको ५१३०, कांग्रेसको २२६२, माओवादी केन्द्रको १७००, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको १३२/१३२ तथा जसपाको १८ हुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट दलहरुले साझा उम्मेदवार बनाउन सक्छन् । त्यसो गर्दा एमालेको एक्लैको ५१३० मतभार हुदा अन्य सबै दलको ४३८८ हुन आउछ । त्यसमा पनि राप्रपाको र मजदुर किसान पार्टीको मत एमालेलाई आउने सम्भावना देखिन्छ ।

यसबाट के प्रष्ट हुन्छ सबै दलले आ–आफ्नै उम्मेदवार बनाए भने एमालेको उम्मेदवारले स्वतः जित्छ । एमाले बाहेकका सबै दल एकजुट भएर साझा उम्मेदवार बनाएपनि मतभार हेर्दा एमालेकै उम्मेदवारले जित्ने निश्चितप्रायः देखिन्छ । तर गत बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिंदा जस्तै एमालेको माधव नेपाल समुहबाट अन्तर्घात भए उनलाई केही जोखिम हुनसक्छ ।

बादल निकट स्रोत भने उनले टिकट पाएमा उनी पुन निर्वाचित हुनेमा ढुक्क देखिन्छ । उनी निकट स्रोतले भन्यो, ‘कांग्रेस र माओवादीले छुट्टाछुट्टै उम्मेदवारी दिएको अवस्थामा जति अन्तर्घात भएपनि एमालेको उम्मेदवारले सहजै जित्छ ।

कांग्रेस र माओवादीको साझा उम्मेदवार भए जुन पार्टीले टिकट पाउँछ, अर्को पार्टीले क्रस मतदान गर्छ । त्यो अवस्थामा पनि एमालेकै उम्मेदवारले जित्ने हो ।’

साझा उम्मेदवार कांग्रेसको भएमा पूर्व माओवादीको ठुलो पंक्तिले बादललाई क्रस मतदान गर्ने आँकलन गरीएको छ । मतदान गोप्य हुने भएकोले क्रस मतदान हुने सम्भावना अत्याधिक छ ।

त्यस्तै अन्य पार्टीका जनजाती मतदाताले पनि बादललाई क्रस गरेर मतदान गर्ने सम्भावना छ । आजमात्रै राष्ट्रिय सभाको सदस्यबाट पदमुक्त भएका बादलले टिकट पाए अबको ३५ दिनभित्र पुन राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने सम्भावना देखिन्छ ।

प्रतिक्रिया