मंगलबार, साउन १९, २०७८

माडी पुगेर प्रचण्डले भनेः अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ

'कम्युनिस्टहरू धर्म–संस्कृति मान्दैनन् भन्नु बिल्कुल झुटो प्रचार हो'

मेरोन्यूज २०७८ वैशाख ५ गते १३:१६

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्टले धर्म–संस्कृति मान्दैनन् भन्ने कुरा बिल्कुलै झुटो रहेको बताएका छन् । माडीको आयोध्यापुरीमा बन्दै गरेको मन्दिरलगायत संरचना निरीक्षण गर्दै अध्यक्ष दाहालले कम्युनिस्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने बताए ।

Advertisement

उनले भने, ‘कम्युनिस्ट धर्म–संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्धन, त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिस्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने उनले जिकिर गरे ।

उनले अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने पनि बताए । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपछि उनले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुसी भएको जनाउँदै दाहालले भने, ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’ यसले धार्मिक प्रवर्द्धन मात्रै होइन, धार्मिक पर्यटन प्रवर्द्धन गर्नाका साथै जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने उनले बताए ।

यसबारे आफूले पार्टीमा पनि छलफल गरेको जनाउँदै दाहालले यसलाई प्रामाणिकता दिन पुरातत्त्वविज्ञ ल्याएर आवश्यक अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले थपे, ‘अनुसन्धानबाट प्रमाणित भयो भने निकै ठूलो उपलब्धि हासिल हुनेछ ।’ यसले जिल्लाका बासिन्दालाई मात्रै नभएर सिंगो राष्ट्रका लागि गौरवको विषय हुने उनको भनाइ थियो ।

Advertisement

यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने उनको सुझाव थियो । सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढंगले लिनुपर्ने दाहालले बताए ।

माडी चितवनको क्षेत्र नम्बर ३ मा पर्दछ । सोही क्षेत्रबाट दाहाल निर्वाचित भएका हुन् । माडीको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमान्को मूर्ति यही वैशाख ९ गते राखिने भएको छ । मूर्ति राख्न निर्माण कार्य धमाधम भइरहेको छ । माडीका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दाहालले सो क्षेत्रको निरीक्षण गरेका हुन् । रासस

प्रतिक्रिया