शनिबार, वैशाख ८, २०८१

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ५ गते ९:१०

नेपालगञ्ज । बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमित तीन जनाको गएराती को मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो ।

त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको हो । गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना गरी उपचारकै क्रममा गए राति ७ बजेर ४० मिनेटमा उनको मृत्यु भएको हो ।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ ।

गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरी उपचार भइरहेकामा स्वास्थ्यमा सुधार नआएपछि उपचारकै क्रममा शनिबार राति साढे ९ बजे मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ भने बाँके जिल्ला कै ६० जनाको कोरोना सङ्क्रमणका कारण निधन भइसकेको छ ।

प्रतिक्रिया