शुक्रबार, वैशाख १४, २०८१

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढायो

मेरोन्यूज २०७८ वैशाख ५ गते ७:२७

काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ तथा डिजेल र मट्टीतेलको १०४ रुपैयाँ तय भएको छ । निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१० रुपैयाँ ४७ पैसा घाटा भई १५ दिनमा ७० करोड ६६ लाख रुपैयाँ घाटा हुने उपाध्यायले बताए ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।

मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल ३५ रुपैयाँ ४१ पैसा सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया