बिहीबार, वैशाख १३, २०८१

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका तीन सांसद पार्टीबाटै निश्काशित, प्रकाश ज्वालालाई केन्द्रले कारवाही गर्ने

मेरोन्यूज २०७८ वैशाख ४ गते १७:२७

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पक्षमा फ्लोर क्रस गरेर मत दिने तीन जना प्रदेश सभाका सांसदलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

कर्णाली प्रदेश कमिटिको शनिवार सुर्खेतमा बसेको वैठकले प्रदेश सभाका सांसदहरु नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको हो ।

उनीहरुलाई वैशाख ३ गतेकै मितिबाट लागु हुने गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको एमालेले जनाएको छ । तीनै जना सांसदहरु नेकपा एमालेको कर्णाली प्रदेश कमिटि सदस्यका रुपमा पनि क्रियाशिल थिए ।

फ्लोर क्रस गरेकै अर्का सांसद प्रकाश ज्वालालाई भने कारवाहीका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ । केन्द्रीय महाधिवेशन आयोजक समितिको सदस्य रहेका कारण उनलाई भने कारवाहीको लागि केन्द्रमा सिफारिस गरिएको कर्णाली प्रदेश कमिटिले जनाएको छ । तर ज्वालालाई पनि साधारण सदस्य समेत नरहने गरी नै कारवाही गर्न प्रदेश कमिटिले केन्द्रलाई सिफारिस गरेको छ ।

उनलाई प्रदेश कमिटिले सिधै कारवाही गर्न विद्यानत: नमिल्ने भएकोले कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको हो ।

तीन सांसदलाई साधारण सदस्य समेत नरहने गरी निश्कासन र ज्वालालाई केन्द्रमा कारवाही सिफारिस गरिएको बैठकपछि कर्णाली प्रदेशका एमाले अध्यक्ष गोरखवहादुर बोगटीले वक्तब्यमार्फत जानकारी दिएका छन् ।

शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा यी चार जना एमालेका सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर शाहीको पक्षमा मत दिएका थिए ।

एमालेका यही चार सांसदले पक्षमा मत दिएपछि शाहीको मुख्यमन्त्री पद जोगिएको थियो ।

प्रतिक्रिया