शुक्रबार, वैशाख १४, २०८१

सत्ताको मैदानमा कांग्रेसको औपचारिक प्रवेश

गत प्रतिनिधी सभा तथा प्रदेश सभाको चुनावयता सत्ताबाहिर रहेको कांग्रेस ३८ महिनापछि कर्णाली प्रदेशबाट सत्ताको मैदानमा औपचारिक प्रवेश गरेको छ

मेरोन्यूज २०७८ वैशाख ४ गते ८:१८

काठमाडौं । झण्डै ३८ महिना केन्द्र देखि प्रदेशसम्म सरकार वाहिर रहेको कांग्रेस औपचारिक रुपमा सत्ताको मैदानमा प्रवेश गरेको छ । २०७४ को प्रतिनिधीसभा तथा प्रदेशसभा चुनावमा एमाले र माओवादी केन्द्रले वाम गठवन्धन गरेर चुनाव लडेपछि कांग्रेस सरकार बाहिर रहने गरी खुम्चिएको थियो ।

तर यो ३८ महिनाको वीचमा यी दुई कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने देखि फेरि अन्तरविरोध चर्काउँदै पूरानै पार्टीमा फर्किने सम्मको अवस्था निम्तेपछि कांग्रेसलाई सत्ताको मैदानमा औपचारिक प्रवेशका लागि बाटो तयार भएको हो । कर्णालीवाट कांग्रेसले त्यो मैदानमा औपचारिक प्रवेश शुरु गरिसकेको छ ।

कर्णालीमा ६ सिटमा रहेको कांग्रेसले शुक्रवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत मागिरहदा वलियो साथ दिएको छ । कांग्रेस मात्रै होइन, एमालेकै माधव नेपाल र झलनाथ खनाल पक्षले पनि ओलीका विरुद्द रणनीतिक रुपमा कर्णालीबाटै विद्रोह बोलेका छन् ।

यसले कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री रहेका शाहीको पद जोगिएको छ ।

कांग्रेस र माओबादी केन्द्रले एमाले त्यसमा पनि एमालेभित्रको प्रधानमन्त्री केपी ओली पक्ष वाहेकका शक्तिहरुको महागठवन्धन निर्माण गर्न खोजेका छन् । त्यसको सन्देश उनीहरुले कर्णाालीबाट औपचारिक रुपमा दिएका छन् ।


अव कर्णाली सरकारमा काग्रेसका प्रदेश सांसदहरुको औपचारिक प्रवेश हुनेछ । त्यहाँको सरकारको मन्त्रालय वाँडफाँडमा अव काग्रेस र माओवादी केन्द्रका नेताहरुका वीचमा शनिवारबाटै छलफल आरम्भ हुने कांग्रेसका नेताहरुको भनाई छ ।

कर्णालीमा मात्र होइन, केन्द्रमै पनि कांग्रेस र माओवादीले गठवन्धन निर्माणको प्रयास गरिरहेका छन् । ओलीइतरको महागठवन्धन निर्माणका लागि कांग्रेस र माओबादी केन्द्रले गरिरहेको प्रयासमा जसपा अनिर्णित वनिरहदा केन्द्रमा त्यसले आकार ग्रहण गरिसकेको छैन ।

यद्यपी कांग्रेस, माओवादी र जसपाले अर्काे गण्डकी प्रदेशवाट महागठवन्धनको शुरुआत गरिसकेका छन् । त्यहाँ कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री वनाउने गरी राष्टिय जनमोर्चा समेतको साथमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथी अविश्वास प्रस्ताव दर्ता गराईसेकका छन् ।
जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेपनि कांग्रेस, माओवादी र जसपाको गठवन्धनमा साथ दिने नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह् वताउँछन् । ‘प्रधानमन्त्री ओलीले कम्युनिष्ट केन्द्र निर्माणलाई कमजोर बनाएर राजावादीहरुको चलखेल वढाएकोले पनि उनी विरुद्धको मोर्चावन्दी अहिलेको आवश्यकता वनेको छ,’ सिंहले मेरोन्यूजसँगको कुराकानीमा भने,-‘गण्डकी लगायतमा हामी पनि कांग्रेस, माओवादीसँगसँगै हुनेछौं ।’

गण्डकीमा पनि अव यो गठवन्धन टिकेमा कांग्रेसको सत्तामा औपचारिक प्रवेश हुनेछ । यस्तै प्रयास लुम्विनीमा पनि जारी छ । जसपाले निर्णाय लिने वित्तिकै त्यहाँ पनि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारीमा काग्रेस, माओवादी केन्द्र जुटेका छन् ।


केन्द्रीय सरकारमा जसपा निर्णायक शक्तिका रुपमा रहेपनि उ अनिर्णित वनिरहँदा कांग्रेस-माओवादीले गरेको गठवन्धन निर्माणको प्रयास सफल हुन सकिरहेको छैन । तर कर्णालीले अव केन्द्रीय सरकारमा पनि जसपा मात्रै निर्णायक रहने अवस्था तत्काललाई तोडिएको छ ।

एमालेभित्रकै मााधव नेपाल समुह निर्णायक शक्तिका रुपमा देखा परेको छ । कर्णालीकै जस्तो फ्लोर क्रस गरे भने केन्द्र सरकारमा पनि माधव नेपाल पक्ष निर्णायक बन्न सक्ने सम्भावना देखिएको छ ।


एमालेको माधव नेपाल पक्ष वरु कारवाही भोग्ने तर विद्रोह गर्ने मनस्थितीमा रहेको कर्णालीले सन्देश दिएको छ । कांग्रेस र माओवादीले मात्र संसदमा गणित पुग्छ ? जसपा स्पष्ट हुनुपदैन ? भनेर पटक-पटक केन्द्रमा प्रधानमन्त्री ओलीको विरुद्द स्टेप चाल्न हिचकिचाईरहेका कांग्रेस सभापति देउवालाई अव गणित जसपाभित्र मात्र छैन, एमालेभित्रकै माधव नेपाल पक्षसँग पनि छ भन्ने सन्देश कर्णालीले दिएको छ ।


संसदीय राजनीतिमा फलोर क्रसलाई अपराध ठानिएपनि कर्णालीले ओलीविरुद्ध दलहरुले महागठवन्धन निर्माण गर्न खोजेको सन्देश भने गएको राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ ।

काग्रेसका एक नेता भन्छन्,-‘हामीले गरिरहेको एमाले वाहेकको गठवन्धन सरकारको प्रयास हो । कर्णालीमा एमालेभित्रकै अन्तरसंर्घषवाट आएको परिणामले गठवन्धन निर्माणलाई नै टेवा दिन्छ ।’

प्रतिक्रिया