बिहीबार, वैशाख १३, २०८१

नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्ने

मेरोन्यूज २०७८ वैशाख ४ गते ८:१९

गलकोट । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ ।

गत वर्षातमा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्‍याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको हो ।

जनताको नजिकको सरकारले पहिरोबाट विस्थापित भएकालाई घर बनाउन सहयोग पु¥याउने उद्देश्यले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर आर्थिक अनुदान उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

“ घर बनाउन नगरपालिकाको तर्फबाट दुई किस्ता गरेर एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ”, नगरप्रमुख पौडेलले भने ।

बागलुङलाई विपद् जिल्लाको रुपमा सरकारले घोषणा गरेर बाढीपहिरो पीडितलाई घर बनाउन संघीय सरकारले चार लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यसमा नगरपालिकाले एक लाख ५० हजार रुपैयाँ थप गर्ने निर्णय गरेको हो । घर बनाउने सूचीमा परेका पीडितले घर निर्माणको पहिलो चरण पूरा गर्नासाथ ७५ हजार रुपैयाँ पहिलो किस्ताबापत उपलब्ध गराउने नगरपालिकाका इञ्जिनीयर गौरव शर्माले जानकारी दिए ।

“घर बनाउँदा पहिरोपीडितले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने प्रावधान छ, तीन ढाँचामा नगरपालिकाले नक्सा बनाएको छ”, इञ्जिनीयर शर्माले भने, “ एक लाख ५० हजार रुपैयाँले सबै घर बन्दैन, पीडितलाई अनुदानका रुपमा उपलब्ध गराउन थालिएको हो, प्रदेश र संघीय सरकारले समेत घर बनाउन रकम दिने भएपछि पीडितले राम्रो भूकम्प प्रतिरोधी घर बनाउन सक्नेछन् ।”

संघीय सरकार र प्रदेश सरकारले पीडितको घर बनाउन दिने भनेको रकम केही ढिला भएका कारण नगरपालिकाले पीडितको घाउमा मलम लगाउन भए पनि अनुदान दिने निर्णय गरेको छ ।

उक्त घर संघीय सरकार र प्रदेश सरकारले अनुदान दिने लाभग्राहीको सूचीमा समेत छन् । सरकारले बागलुङलाई विपदग्रस्त क्षेत्रका रुपमा समेटेर बागलुङका ५९० घर पुनःनिर्माण गर्नुपर्ने तथ्याङ्क सङ्कलन गरेको थियो ।

बाढीपहिरो पीडितको घर निर्माणका लागि बागलुङ जिल्लामा सरकारले कार्यालय स्थापना गर्ने तयारीसमेत थालेको छ ।

भदौ १७ गते राति ढोरपाटनको भुजीखोला थुनिएर आएको बाढीले १०० भन्दा बढी घर बगाएको थियो । त्यसलगत्तै बागलुङलाई सरकारले विपदग्रस्त जिल्लाका रुपमा घोषणा गरेको थियो । (रासस)

प्रतिक्रिया