शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक, के के छन् त एजेन्डा ?

मेरोन्यूज २०७८ वैशाख ४ गते ७:१०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक आह्वान गरेका हुन् ।

समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताए ।

संसदमा अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व छ ।

माओवादी केन्द्रले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएको छ । यद्धपी नयाँ सत्तासमिकरणको गृहकार्यले पूर्णता नपाएकाले माओवादीले ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।

समर्थन फिर्ता लिए ओलीले फेरी अर्को कुनै कदम चाल्न सक्ने माओवादी केन्द्रका नेताहरुको बुझाई छ ।

नेकपा एमाले बाहेकका दल नयाँ सरकार बनाउन गृहकार्यमा छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच नयाँ सत्तासमिकरणका विषयमा संयुक्त रुपमा छलफल नै सुरु भइसकेको छ । यद्धपी सो छलफलले सार्थकता पाउन भने सकेको छैन ।

एमालेभित्रको आन्तरिक कलहका कारण प्रतिनिधि सभा विघटन गरेको भन्दै दलहरु मोर्चावन्दीमा जुटेका बेला ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।

प्रतिक्रिया