बुधबार, वैशाख १२, २०८१

काठमाडौं महानगरपालिकाले भन्यो-कोभिड देखिएका विद्यालय कम्तीमा एक साता बन्द गर्नु

मेरोन्यूज २०७८ वैशाख ३ गते ११:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका कुनै पनि विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोभिड संक्रमण देखिएमा त्यस्तो विद्यालय कम्तीमा एक साता बन्द गर्न पत्राचार गरेको छ ।

कोभिड १९ को जोखिमलाई ध्यान दिदै महानगरपालिकाले त्यस्तो विद्यालयलाई अर्काे सूचना जारी नभएसम्म वा कम्तीमा एक साता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्नु गराउनु हुन आग्रह गरेको हो ।

महानगरपालिका प्रमुख स्तरको वैशाख २ गतेको निर्णय अनुसार कोभिड १९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्काे सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमवाट शिक्षण सिकाई गर्नु गराउनु हुन महानगरले आग्रह गरेको हो ।

तर त्यस्तो अवस्था नभएका विद्यालयहरुले सामाजिक दुरी कायम गर्न , मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रासँग हात धुने /सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्इ तथा जनसंख्या मन्त्रालयवाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाईका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु गराउन महानगरपालिकाले भनेको छ ।

महागरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीको हस्ताक्षरमा महानगरपाकिलाले सवै विद्यालयलाई पत्र पठाउँदै त्यस्तो आग्रह गरेको हो ।

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिफ गरेपनि सरकारले औपचारिक निर्णय नलिएका कारण विद्यालय र अभिभाबकहरु भने दोधारमा छन् ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित १५ प्रमुख सहरहरूका शिक्षण संस्था बन्द गर्न सिफारिस गदै आएको छ ।

विहिवार मात्रै पनि उसले १५ जिल्लाका शिक्षण सस्थाहरु बन्द नगर्ने हो भने मुलुकमा फरी पनि लकडाउनको अवस्था आउन सक्ने चेतावनी दिईरहेको छ ।

उच्च जोखिममा रहेका मुख्यरमुख्य सहरका विद्यालय बन्द गरेर अनलाइन पठनपाठन गराउन सुझाव दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वताएका थिए ।

‘जहाँ-जहाँ संक्रमण बढी छ, त्यहाँको विद्यालय बन्द गर्न भनेका हौं,’ उनले भने, ‘सिफारिस गरेको एक साताभन्दा बढी भयो तर निर्णय हुन ढिलाइ भइरहेको छ, अवस्था भयावह हुन सक्छ ।’

काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल–बनेपा, विराटनगर, जनकपुर, धरान, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, नेपालगन्ज, धनगढी, भीमदत्त नगर र पोखराका शिक्षण संस्था तत्काल बन्द गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

महानगरपालिकाले भने विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीमा कोरोना देखिएमा मात्र विद्यालय वन्द गर्न सवै विद्यालयलाई पत्राचार गरेको छ ।
यसले पनि विद्यालय खोल्ने/नखोल्नेमा अन्यौलता वढाईरहेको छ ।

प्रतिक्रिया