शनिबार, साउन ९, २०७८

भेरी अस्पतालमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर

मेरोन्यूज २०७८ वैशाख ३ गते ९:५३

राँझा । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ जना कोरोना सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।

Advertisement

अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ जना कोरोना सङ्क्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म बाँकेमा जिल्लाभित्रका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९३ जनाको निधन भइसकेको छ । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८२ पुगेको छ ।

बाँकेमा अहिलेसम्म कूल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकोमा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।

बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय सङ्क्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।

Advertisement

एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान साढे ७ बजे मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेशन पुनः सञ्चालन गर्ने निणृइ गरेको छ ।

यस्तै कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेशनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारी अवस्थामा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

प्रतिक्रिया