बिहीबार, चैत १५, २०८०

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

मेरोन्यूज २०७८ वैशाख ३ गते ९:४५

खलङ्गा । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ ।

मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन् ।

विद्यालयमा वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय अहिले बन्द गरिएको छ । उनीहरुमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माविका प्रधानाध्यापक जनक रावतले बताए ।

उनले भने, “अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ । गत चैत २३ गते परीक्षामा अनुपस्थित छात्र २४ गते अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका छन् ।”

विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावतले बताए । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ ।

Advertisement

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै सङ्क्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले बताए ।

“गाउँले अहिले निकै डराएका छन्, अज्ञात रोगले तीव्ररूपमा गाउँ नै थला पार्न थालेको छ”, वडाध्यक्ष रावलले भने, “तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ । अहिले यहाँ अत्यधिक वायु प्रदूषणले पनि यो समस्या खडा गरेको छ ।” लामो समय खडेरी पर्दा गाउँगाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीयवासी बताउँछन् ।

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक चौलागाईंले बताए ।

रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण भएको छ ।

मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ । आवश्यक औषधि उपलब्ध गराई उपचार गरेको प्रमुख सापकोटाले बताए ।

चन्दननाथ नगरपालिका–४ का स्थानीयवासी अप्सरा न्यौपानेले भनिन्, “मेरो बच्चा पनि अहिले बिरामी छ, विद्यालयबाट बिरामी भएर आयो । बच्चाको स्वास्थ्य जाँच गर्दा चिकित्सकले सामान्य रुघाखोकी हो भन्नुभएको छ, मेरो छिमेकीका बच्चा अहिले एक/दुई गरेर बिरामी परेका छन् ।”

विद्यालयमा राम्रोसँग स्वास्थ्यका मापदण्ड लागू नहुँदा यस्तो समस्या अझै आउने स्थानीयवासी न्यौपानेले बताउँछिन् । वायु प्रदूषण र अहिले मौसम सुक्खा भएकाले स्वास्थ्यका लागि हानिकारक रहेको वातावरणविद् बताउँछन् । (रासस)

प्रतिक्रिया