बिहीबार, वैशाख १३, २०८१

एक हजार ८०० अन्तर्राष्ट्रिय योग शिक्षक जुममार्फत एकसाथ दीक्षित

मेरोन्यूज २०७८ वैशाख २ गते २०:५५

काठमाडाैं । विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज अष्ट्रेलियाले विश्वभरका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक हजार ८०० योग शिक्षकलाई जुममार्फत एकसाथ दीक्षित गरेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय शैक्षिक तथा यौंगिक सङ्घ संस्थाको समन्वयमा अन्तर्राष्ट्रिय योग एलायन्सद्वारा मान्यता प्राप्त योग शिक्षकलाई जुममार्फत दीक्षित गरिएको हो ।

समाजका संस्थापक प्रा योगी आचार्य राजन शर्माको समन्वय र नेपालका योगीको सहकार्यमा कार्यक्रम भएको हो । कार्यक्रममा ३२ राष्ट्रका योग मुमुक्षु साधक र गुरुजनको उपस्थिति थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले देशको पहिचान जोगाउंन गरिएको कार्य महान र राज्यकै उत्थान गर्ने अभियान रहेको बताए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अभियानले देशकै गौरव बढाएको सुनाउँदै आचार्य राजन शर्माको अभियान अब विश्वकै नेपालीको अभियान भएको बताए । डा योगी विकासानन्दले विदेशी योग एलायन्सको नाममा एकाधिकार चलाउँदै आएको नेपाली समाजमा निःशुल्क वैश्विक मान्यता प्राप्त शिक्षा घर–घरमा पु¥याएर समाजले सत्पात्र र सच्चा सपुतको काम गरेको बताए ।

अध्यात्मिक युवा गुरु चैतन्य कृष्णले समाजको योगदानबाट विश्वमै एक अलौकिक काम हुन लागेको बताए । डा क्षीतिज बाराकोटीले योगले जोड्ने कार्य गर्ने भएकाले यो अभियानले वास्तवमै विश्व जोडेको बताए । योग सिकाइ चेतना प्रधान हुनुपर्ने उनको भनाइ थियो ।

अमेरिका, अष्ट्रेलिया, फिजी, मलेसिया, कतार, क्यानडा, कोरिया, भारतलगायत विश्वका विभिन्न देश तथा नेपालका सातै प्रदेशका सङ्घसंस्था, योगीजन, गुरुकुल र प्रत्येक योग शिविर तथा घर–घरबाट एकैसाथ विश्व शान्ति दीप प्रज्ज्वलन गरेर सांकेतिक रुपमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया