बिहीबार, वैशाख १३, २०८१

गण्डकी र लुम्बिनीको सहमतिले जसपामा विवाद

केन्द्रको निर्णयविना हस्ताक्षर गर्न तयार हुने सांसदहरूलाई कारबाही गर्नु पर्ने ठाकुर र महतो पक्षधरको माग

मेरोन्यूज २०७८ वैशाख २ गते ११:३१


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टी केन्द्रको निर्णयविना प्रदेशमा सत्ता समीकरण गरेको भन्दै लुम्बिनी र गण्डकी प्रदेशका प्रदेश सांसदहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।


जसपाका गण्डकी प्रदेशसभाका दुई सांसदले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज दर्ता गर्ने तयारी भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् । लुम्बिनीमा मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न जसपाका सांसदहरूले सहमति जनाएका छन् । लुम्बिनीमा जसपाका ६ सांसद छन् ।


गण्डकीमा रहेका जसपाका २ सांसद तत्कालिन नयाँ शक्ति पार्टीबाट जितेका हुन् । लुम्बिनीमा रहेका ६ सांसदमध्य तत्कालिन राष्ट्रिय जनता पार्टीका एक र समाजवादी पार्टीका ५ सांसद हुन् ।


केन्द्रमा जसपामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नेपाली कांग्रेस र माओवादीले बनाउने तयारी गरेको नयाँ गठबन्धनलाई समर्थन गर्ने भन्नेमा दुई धार छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक निर्णय गरेको भन्दै उनलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादीलाई समर्थन गर्नु पर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने आफूहरूका माग पूरा गर्न ओली सकारात्मक रहेकाले अर्को समीकरणमा तत्काल हाम फाल्न नहुने बताइरहेका छन् । यादव र डा. भट्टराई पूर्वसमाजवादी पार्टी , ठाकुर र महतो पूर्व राष्ट्रिय जनता पार्टीका नेता हुन् ।

गण्डकी मा सांसद दुवै जना पूर्वसमाजवादी पार्टीका र लुम्बिनीमा ६ मध्य ५ पूर्वसमाजवादी पार्टीका भएकाले केन्द्रमा कांग्रेस माओवादी पार्टीतिर लाग्नुपर्छ भन्ने यादव र डा.भट्टराईसँगको सहमतिमा प्रदेशको माओवादी र कांग्रेस गठबन्धनलाई समर्थन गरेका हुन् । यस विषयमा मंगलबार साँझ यादव र डा. भट्टराईले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग कुराकानी गरेका थिए ।


वरिष्ठ नेता राजेन्द्र महतोले गण्डकी र लुम्बिनीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सहयोग गर्ने पार्टीको कुनै पनि निर्णय नभएको बताए । केन्द्रको निर्देशनविना प्रदेशका सांसदहरूले कसरी निर्णय गरे भनेर ठाकुर र महतोले यादव र डा. भट्टराईलाई प्रश्न गरिरहेका स्रोतले बतायो ।


महतोले औपचारिक कुनै निर्णय नभएको स्वीकारे । लुम्बिनी र गण्डकीबारे के हो पार्टीको आधिकारिक लाइन भन्ने विषयमा सोधिएको प्रश्नमा महतोले भने, ‘म जनकपुर छु । केन्द्रमा आएपछि कुरा गरौंला । यत्ति बुझ्नुस हामीले केन्द्र होस या प्रदेश कसलाई समर्थन गर्ने औपचारिक निर्णय गरेका छैनौं ।’

स्रोतका अनुसार केन्द्रको निर्णयविना अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने र गर्न तम्सिनेहरूलाई कारबाही गर्न बैठक बोलाउन दबाब ठाकुर र महतो पक्षले दिइरहेको छ ।

प्रतिक्रिया