शुक्रबार, वैशाख १४, २०८१

नेपालको अर्थतन्त्र २०७७

पर्यटन, रोजगारी घट्यो : शेयर र विद्युत बढ्यो

किरण अधिकारी २०७८ वैशाख २ गते ९:११
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर धापाखेलकी सरिता सुवेदीले कोभिडका कारण रोजगारी गुमाइन् ।

नीजि स्कुलको जागिरे उनी कोरोनाका कारण सरकारले लगाएको लकडाउनकै कारण स्कूलबाट हटाइन् । लकडाउन पछि स्कूल खोलेपनि पहिलाभन्दा कम पारिश्रमिकमा मात्र राख्ने भनेपछि स्कूलमा फेरी उनी जोडिन पुगिनन् ।

सुवेदी भन्छिन्, ‘कोरोनाकै कारण थोरै भएपनि पैसा कमाउने बाटो बन्द हुँदा मेरो र बच्चाको लागि हुने खर्च पनि श्रीमानले नै गर्नुपर्ने हुँदा गाह्रो छ । यत्ति हो श्रीमानको सरकारी जागिर भएकाले नियमित तलबले गुजारा भयो तर समस्या मेरो जागिर नभएकोले छ ।’

ललितपुरकी स्थानीय सुवेदी त एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै कैयौं सर्वसाधारण कोरोनाकै कारण रोजगारीबाट विमुख हुन पुगे । मुलुकको विकास, आर्थिक गतिविधिले नै हुनेमा दुईमत छैन ।

आर्थिक गतिविधिको लागि गत वर्ष २०७७ वास्तवमै समस्यामा परेको छ । कोरोनाकै कारण २०७६ चैत्र ११ गतेदेखि करिब ६ महिना लकडाउड भयो । सरकारले कोरोनापछिको देश तथा समाजको अवस्थालाई सुष्म रुपमा विश्लेषण गरेर यसले सिर्जना गरेका अवसरलाई दीगो बनाउने गरी नीति तथा रणनीति बनाउन नसकेका कारण आर्थिक क्षेत्र क्षतविक्षत बनेको छ ।

कोरोनाले व्यक्तिको बानीव्यवहोरा, रहनसहन, संस्कार संस्कृति सबैमा असर पारेको छ । चाडपर्व मनाउने चालचलन फेरिएको छ । मुख्य कारण आर्थिक नै हो ।

एकातिर मुलुकभित्र रोजगारी गुम्न थाले, उपभोग घट्न थाल्यो, जनजीवन थप कष्टकर हुन थाल्यो भने नेपाली श्रम गन्तव्य मुलुक लकडाउनपछि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर क्रमशः खुल्न खोजेका छन् ।

तर पनि समस्याले सबै नेपालीलाई अपठ्यारो पारेकोमा दुईमत छैन । महामारीमै विदेशका उद्यम, व्यवसाय बन्द भए, खाडी मुलुकमा रोजगारीको सटर बन्द हुँदा समस्या पर्‍यो।

गत वर्ष समस्यामा परेको एउटा खम्बा पर्यटन क्षेत्र
कोरोनाका कारण प्रत्यक्ष प्रभाव परेको मुख्य क्षेत्र हो – पर्यटन । वर्ष २०७७ मा यो क्षेत्रमा निक्कै निरासा छायो । पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, ट्राभल ट्रेकिङ, हवाई र यातायात क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो ।

सरकारी योजनानुसार सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्राउने महत्वकांक्षी योजना भएकोले पर्यटन व्यवसायीहरु धेरै हौसिएपनि कोभिड समस्याले नेपालमा पारेको असरले २०७७ पर्यटनका लागि दुर्भाग्यपूर्ण भयो ।

ठूलो आशा र अपेक्षाका साथ पर्यटन व्यवसायीले लगानी विस्तार गर्दै थिए । तर कोभिडले निराशामा बदलेको होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष एंव अन्नपूर्ण होटलका सञ्चालक सिर्जना राणाले बताईन् ।

उनले भनिन्, – ‘कोभिडका कारण पाँचतारे होटल अन्नपूर्ण बन्द हुनुमा पर्यटन क्षेत्रमा आएको ठूलो क्षति हो । अरु होटल पनि समस्यामा परे, सरकारले अन्य देशबाट आएका नेपालीलाई समेत १४ दिन क्वारेन्टिनमा राख्न होटल रोजेकाले केही राहत भएपनि समस्या छ ।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले २०७२ को भूकम्पको बेलाभन्दा २०७७ पर्यटन क्षेत्रका लागि सबैभन्दा दुखद वर्षको रुपमा सावित भएकाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटन चलायमान खोजेकाले सरकारले साथ दिनुपर्ने नाट्टाले जनाएको छ ।

कोभिडका बीचमा हवाई यात्रु बढेको भएपनि भाडादर अत्यन्त न्यून रहेकाले कुनै नाफा भने नभएको वायुसेवा सञ्चालक संघले उल्लेख गरेको छ । विदेशी पर्यटक नआएसम्म हेलिकप्टर क्षेत्र चलायमान हुन नसक्ने वायुसेवा क्षेत्रले दाबी गरेको छ ।

पर्यटनसँगै बैदेशिक रोजगारीको असर रेमिट्यान्समा
झण्डै ४० लाख नेपाली विदेशमा कार्यरत छन्, त्यी मध्ये महामारीका कारण श्रम र उच्च शिक्षा अध्ययन गन्तव्य ३२ मुलुकबाट सवा लाख नेपाली स्वदेश फर्किए ।

नेपाली अर्थतन्त्रको अर्को ठूलो बैदेशिक रोजगारबाट भित्रिने रेमिट्यान्स घट्यो । कोरोनाकै कारण गत वर्ष १ महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँमा झरेको प्रष्ट छ ।

सामान्य समयको भन्दा मासिक औसतमा रेमिट्यान्स आधा घटेपछि नुनदेखि सुनसम्मको चुनौतीको कालो बादल नेपाली अर्थतन्त्रमा मडारियो । २०७७ सालको नयाँ वर्षमा लकडाउनले कुनै उत्साह र उमंगले स्वागत नगरेझै २०७८ को इभमा पनि उत्साहपूर्ण रुपमा देखिएन ।

अहिले वैदेशिक रोजगारको बाटो सबै आकांक्षी युवाका लागि खुला गर्‍यो । त्यो नै हाम्रो अर्थव्यवस्था जोगाउने मुख्य आधार रहेको छ ।

बैंक तथा वित्तिय क्षेत्र
नेपाल राष्ट्र बैंकले लिएको एकआपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्वायर) नीतिलाई पूर्ण सहयोग गर्दै आएकोले गत वर्ष २०७७ मा केही बैंक नाफामा गए ।

तर कोरोनाका कारण वित्तिय क्षेत्रलाई समस्या प¥यो । बैंकमा पैसा भएकाले निकाल्न मात्र थालेपछि वित्तिय क्षेत्र समस्यामा पर्नुको विकल्प थिएन । कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई उठाउन बैंकिङ क्षेत्रको मर्ज नै मूख्य उपाय रहेको पूर्व गर्भनर चिरञ्जिवी नेपालले बताए । उनले भने, ‘वित्तिय क्षेत्रमा परेको असरले मर्ज बढ्दै जाँदा केही समाधान हुँदै छ ।’

सरकारले प्रत्यक्ष वैदेशिक लगानीलाई आकर्षित गरिरहेका बेला लगानीकर्ता भने घटेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानी ३४ दशमलव ८ प्रतिशतले कमी आएको छ ।

गत वर्ष १० अर्ब १८ करोड रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । कारोनाका कारण वित्तिय क्षेत्र र बैदेशिक लगानीमा समस्या भएको तत्थ्यांकले देखाउँछ ।

जलविद्युत क्षेत्र
ऊर्जा क्षेत्रका लागि पनि गतवर्ष २०७७ उत्कृष्ट भएन । कोरोनाले गर्दा निर्माणाधीन अधिकांश विद्युत आयोजना रोकिएकाले ऊर्जा क्षेत्र ओरालो लाग्यो । २०७७ जलविद्युत, सौर्य विद्युत र चिनी उद्योगका गरी १३ विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिए ।

यी विद्युत आयोजनाको एक सय दशमलव ६ मेगावाट विद्युत गत साल प्रसारण प्रणालीमा थपिएको छ ।

गत वर्ष जेठ महिनामा ९ दशमलव ६ मेगावाटको सुपर माई ‘ए’ जलविद्युत आयोजना प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको बुटवल सौर्य विद्युत आयोजना र मनकामना इन्जिनियरिङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको घट्टे खोला कात्तिकदेखि प्रणालीमा जोडिएका हुन् ।

इतिहासमै पहिलो पटक २०७७ सालमा चिनीको खोस्टाबाट पनि विद्युत उत्पादन गरिएको छ । एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उखुको खोष्टाबाट ३ मेगावाट विद्युत उत्पादन गरी विद्युत प्राधिकरणलाई बेच्न सुरु गरेको छ ।

एभरेष्ट सुगर एण्ड केमिकल उद्योगले उत्पादन गरेको विद्युत गत माघदेखि प्रणालीमा थपिएको हो । यी उदाहरण हुन् । कोरोनका कारण २०७७ सालमा १३ आयोजना पूरा भए, १ सय मेगावाट मात्र विद्युत उत्पादन भयो, जुन निर्धारित लक्ष्य भन्दा धेरै कम हो ।

आर्थिक क्षेत्रका अन्य क्षेत्रमा नराम्रो भएपनि शेयर र विद्युतमा राम्रो
पूर्ण अनलाइन कारोबार प्रणालीकै कारण लकडाउनमा पनि नेपालको सेयरबजारले ऐतिहासिक विन्दुसँगै कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । गत वर्ष नेप्सेमा एकै दिन १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

नेप्सेमा कारोबार रकमको ऐतिहासिक रेकर्ड २०७७ साल माघ २६ गतेको कारोबार दिनले रचेको हो ।

चैत ३१ गतेसम्म नेपालको सेयर बजारको कुल पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड ५० लाख ७१ हजार रुपैयाँ कायम भएको छ । यी आधार हेर्दा साँच्चै नेपालको सेयर बजारले १ वर्षमा काचुली फेरेको देखिन्छ ।

५ लाख ७६ हजारभन्दा बढी व्यक्ति अनलाइन कारोबार प्रणालीसँग जोडिएका छन् जसले गर्दा शेयर बजारमा राम्रो देखिएको हो ।

यसैगरी विद्युतिय सवारी साधनका लागि पनि २०७७ उत्कृष्ठ रह्यो । नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तराष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन १ वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । यो कोरोनाका बेला समेत आर्थिक र विकासको रुपमा राम्रो मानिएको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रशंसा गरे ।

०००

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया